हुम्लामा सिटामोल अभाव, मर्कामा बिरामी

admin

सिमिकाेट, १९ पुस : अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्य चौकीमा पाइँदैन। सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन् ।

साया स्वास्थ्य चौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य सिटामोलसमेत नपाउने गरेको गुनासो आउन थालेको छ । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयको भनाइ छ ।

स्वास्थ्य चौकीमा औषधि पाइन छाडेपछि सर्केगाडका सर्वसाधारण्लाई सास्ती खेप्नुपरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) का विरामीका लागि पनि अत्यावश्यक औषधि मानिने सिटामोलको अभाव देखिएको छ भने ज्वरोका बिरामीहरू औषधि नपाएर घर फर्किनुपरेको अवस्था आइपरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्य चौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन्। सो स्वास्थ्य चौकीमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने गरेको बताइएको छ।

पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण सो स्वास्थ्य संस्थामा ज्वरोका बिरामी बढेका छन् । ‘केही औषधि पसलहरूले समेत सिटामोल आफ्नो नजिकको ग्राहकलाई दिन स्टक गरी राख्दा उपलब्धतामा थप समस्या देखिएको हो,’ स्वास्थ्य चौकीका अनमी बिजौरा शाहीले भनिन् ।

व्यवस्थापनमा सरकारी निकायका कमजारीले देशभर जीवनरक्षक औषधि अभाव रहेको आरोप स्थानीयवासीको छ । ‘गाउँभरि सिटामोलको अभाव छ,’ उनले भनिन्, ‘स्वास्थ्य चौकीमा समेत सिटामोल छैन ।’

गाउँपालिकाको दूरदर्शिता नभएकाले यो समस्या आएको स्वास्थ्यकर्मीको आरोप छ । सिटामोलजस्तो अत्यावश्यक औषधि नहुनुमा गाउँपालिकाले समयमै यसतर्फ ध्यान नदिनु मुख्य कारण भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

सो स्वास्थ्य चौकीमा अस्थायी साधनसँग सम्बन्धित पिल्सहरू पनि नभएको अनमी शाहीले बताइन् । यसका साथै स्लायन पनि नभएको उनको भनाइ छ।

प्रायः टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्नेलगायत समस्या लिएर स्वास्थ्य चौकीमा आउनेहरू सिटामोल, एमोसिलिनजस्ता औषधि नहुँदा थप समस्या बनाएको शाहीले बताइन् । यस्तै हिउँदको समयमा दमका बिरामी स्वास्थ्य चौकीमा बढी आउने गरेको भए पनि उनीहरूलाई चाहिने औषधिसमेत नभएको बताइएको छ ।

स्वास्थ्य चौकीका अहेब धर्मराज शाहीले औषधि अभाव हुँदा नागरिकको गाली आफूहरूले खानुपर्ने अवस्था आएको बताए ।

उपचारका लागि आएका बिरामीलाई औषधि छैन भन्दा जानेबुझेका फिर्ता हुने गरे पनि नबुझेका केहीले गाली गर्नेको उनको भनाइ छ ।

प्रतिक्रिया