फ्रान्समा ८ सय ७४ वटा कार जलाइयो, नयाँ वर्षको अवसर पारेर वर्षेनी किन जलाइन्छ कार ?

admin

एजेन्सी, १९ पुस : फ्रान्समा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा एक पटक फेरि कारहरू जलाइएको घटना सार्वजनिक भएको छ । यस वर्ष ८ सय ७४ वटा कार जलाइएको प्रहरी विभागले जानकारी दिएको छ ।

फ्रान्सको गृह मन्त्रालयले यो संख्या सन् २०१९ को तुलनामा निकै कम रहेको बताएको छ । सन् २०१९ मा एक हजार तीन सय १६ वटा कार जलाइएको थियो । संख्या घट्नुमा प्रहरीको बाक्लो उपस्थितिलाई कारण मानिएको छ ।

सन् २०२० मा देशव्यापी लकडाउनका कारण कतै कार जलाइएको खबर सार्वजनिक भएको थिएन । यस पटक नयाँ वर्षको अवसरमा ९५ हजार संख्यामा प्रहरी तैनाथ गरिएको थियो । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार ३२ हजार दमकलका चालक र सुरक्षाकर्मी पनि तैनाथ गरिएको थियो ।

यस्तै, कैयौँ देशमा जस्तै फ्रान्समा विभिन्न कारणबाट बर्सेनि कारमा आगो लगाइन्छ, यस्तो गर्नेमा अपराध गर्ने र झुटो बीमा दाबी गर्नेहरू हुन्छन् । तर फ्रान्समा नयाँ वर्षको आगमनलाई चिनाउन कारमा आगो लगाउने नयाँ तरिका बनेको छ ।

यो प्रथा सन् १९९० को दशकमा पूर्वी फ्रान्सको स्ट्रासबर्ग नजिकको क्षेत्रमा युवाहरू (विशेषगरी न्यून आय भएका) बीच सुरु भएको थियो । सन् २००५ मा फ्रान्समा आवास परियोजनाबाट निराश युवाहरूले यसलाई विरोधको आवाज पनि बनाएका थिए । त्यस बेला प्रहरीले तीन हप्ताभन्दा कम अवधिमा आठ हजार आठ सय १० वटा गाडी जलाएको गणना गरेको थियो ।

प्रतिक्रिया