पर्सिदेखि देशभर पानी पर्ने सम्भावना

admin

काठमाडौं, १९ पुस : आउँदो बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार बेलुकादेखि शुक्रवारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको असर शुक्रवारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो ।

शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधवार अलि धेरै पानी पर्ने सम्भावना रहेको छ । त्यसपछि बिस्तारै मध्य हुँदै पूर्वतर्फ सर्नेछ र देशभरि नै प्रभाव पर्नेछ ।

मौसम बदलीका कारण देशका धेरै ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तर धेरै ठूलो पानी पर्ने सम्भावना भने छैन । चिसोको समयमा मौसम बदली भएर सानो पानी पर्दा पनि चिसो धेरै नै बढ्छ । मौसम बदली भएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्ने भएकाले चिसो अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान विभागका अनुसार आज र भोलि भने देशका धेरैजसो ठाउँमा दिनभरि घाम लाग्नेछ । प्रदेश २ र गण्डकी प्रदेशका केही ठाउँमा बिहान बेलुका कुहिरो लाग्ने सम्भावना छ ।

प्रतिक्रिया