सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगरे सांसदद्वारा अनशन बस्ने चेतावनी

admin

काठमाडौं, २० पुस : सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनशन बस्ने चेतावनी दिएका छन् । सांसद मोदीले उखु किसानले पटक-पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरूलाई भुक्तानी नदिएको भन्दै अब आफैँ आमरण अनशनमा बसेर भुक्तानी दिलाइ छाड्ने अठोटसमेत व्यक्त गरे ।

(आज) मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले उखु किसानको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसदहरू आफैँले आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउने बताए । सांसद मोदीले उखु किसानको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको पनि बताए ।

यस्तै बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानको भुक्तानी तत्काल गर्न सरकारलाई सचेत गराए । उनले कुनै पनि किसानले फेरि आन्दोलन गर्नु नगर्ने गरी सरकारले उनीहरूको समस्या समाधान गर्न ढिलाइ गर्न नहुने बताए ।

नेकपा माओवादी केन्द्रकी अर्का सांसद धर्मशीला चापागाईँले समितिले पटक-पटक उखु किसानको भुक्तानी गर्न दिएको निर्देशन सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाइन् । उनले सरकारले किन उखु किसानलाई भुक्तानी दिन नसकेको ? भनी पटक-पटक प्रश्नसमेत गरिन् ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले मन्त्रालयले उखु किसानको भुक्तानीका लागि प्रयास गरिरहेको बताए । झण्डै एक अर्ब ७० करोड बक्यौता भएकोमा मन्त्रालयले झण्डै आठ करोडमा झारेको पनि उनले समितिलाई जानकारी गराए।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले उद्योगहरूको दायित्वमा रहेको उखु किसानलाई दिने भुक्तानी सरकारले दिन नमिल्ने बताए । उहाँले ती समस्या समाधानका लागि सरकार लागिपरेको पनि बताए ।

अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले उखु किसानको समस्या समाधानका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले कृषि क्षेत्रको विकासमा लगानी बढाउन अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने बताए । सचिव पुस्करले उखु किसानको भुक्तानीको समस्या समाधानका लागि उद्योग र कृषि मन्त्रालयसँग छलफल भइरहेको पनि बताए ।

प्रतिक्रिया