फेरि ४ प्रतिशत बढ्यो नेपालमा कोरोना संक्रमण दर, थप तीन जनाको ज्यान गयो

admin

काठमाडौं, २० पुस : नेपालमा कोरोना संक्रमण दर फेरि बढेको छ । (आज) मंगलबार नौ हजार तीन सय २९ जनाको नमुना परीक्षण गर्दा तीन सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये चार दशमलव २१ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला केही हप्तायता संक्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो । यस्तै सक्रिय संक्रमितको संख्या फेरि पाँच हजार नाघेको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक यही पुसको १० गते सक्रिय संक्रमितको संख्या पाँच हजारभन्दा तल झरेको थियो ।

तर मंगलबार सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ पुगेको छ । बितेको २४ घण्टामा दुई सय ६३ जनासहित अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या आठ लाख १२ हजार नौ सय ३७ पुगेको छ । यस्तै थप तीन जनासहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय एक पुगेको छ ।

यसैबीच बितेको २४ घण्टामा तीन लाख १६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । थप तीन लाख १६ हजार जनासहित अहिलेसम्म एक करोड सात लाख १० हजार सात सय जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ४५ लाख ६४ हजार पाँच सय ३३ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया