शिक्षामन्त्रीद्वारा काठमाडौं मेडिकल कलेज अनुगमन : ‘भोलिसम्म शुल्क सम्बन्धी रिपोर्ट पेस गर्न निर्देशन’

admin

काठमाडौं, २२ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (आज) बिहीबार काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीले अनुगमन गरेका हुन् । अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाउने बताए ।

मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई भने, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ ।’ मन्त्री पौडेलले शुल्कका सम्बन्धमा (भोलि) शुक्रबारसम्म रिपोर्ट पेस गर्न पनि निर्देशन दिएका छन् । ‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्’, मन्त्री पौडेलले निर्देशन दिँदै भने ।

यस्तै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाएकी छिन् । काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले (हिजो) बुधबारदेखि तालाबन्दी एवम् प्रदर्शन गर्दै आइरहेका छन् ।

बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो ।

प्रतिक्रिया