मन्त्रिपरिषद् बैठक : गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त

admin

काठमाडौं, २२ पुस : सरकारले देशको आन्तरिक गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ ।

(हिजो) बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेदेखि लागू हुनेगरी मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले आर्थिक वृद्धि तथा उत्पादनशिलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन (झण्डै १० अर्ब ३९ करोड रुपैयाँ) नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका विभिन्न विद्युत् वितरण केन्द्र र प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णयसमेत गरेको छ ।

सरकारले गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख जिल्ला अधिकारीहरुलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ ।

यस्तै सरकारले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, निजगढको कोहल्वी ३३ केभी सबस्टेशन निर्माणका लागि दुई बिघा जग्गा नेपाल विद्युत् प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृत दिने र दार्चुलामा महाकाली नदीमाथि नेपाल-भारत जोड्ने मोटरेबुल पुल, निर्माणको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ । त्यस्तै वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथमिकता प्राप्त र ठूला पूर्वाधार आयोजनाको क्षेत्रफलभित्र पर्ने रुख कटानलाई पहिलो प्राथमिकता दिने र नेपाल राजपत्रको नियमित अङ्क हप्ताको दुई पटक सोमबार र बिहीवार प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद्को बैठकले गोरखापत्र संस्थानलाई गोदाम भवन निर्माण गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृत दिने र राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव कृष्णबहादुर राउतलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको पनि उनले बताए ।

प्रतिक्रिया