नेपालमा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि हुनेको संख्या २७ पुग्यो

admin

काठमाडौं, २३ पुस : नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले (आज ) शुक्रबार विज्ञप्ति निकालेर पुस महिनामा सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

यी नमुना देशभरबाट सङ्कलन गरिएका हुन् । यसअघि नेपालमा तीन जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको संख्या २७ जना पुगेको छ ।

ओमिक्रोन भेरियन्ट फैलिएको पाइएपछि यसका कारण हुन सक्ने बिरामीको चापलाई ध्यान दिएर स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अरू सामग्रीको जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।

सीमा नाकामा कोरोना परीक्षणलाई थप प्रभावकारी बनाउने तथा संक्रमण देखिएका व्यक्तिलाई आइसोलेशनमा राखिने विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंका वीर, निजामती, वीरेन्द्र सैनिक, टिचिङ, प्रदेश २ को प्रदेश जनप्रयोगशालामा एस–जिन सिक्वेन्सिङ हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही दिनदेखि कोरोना संक्रमणको दर पनि बढिरहेको छ । मन्त्रालयले संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया