पार्टीलाई बलियो बनाउने गरी काम गर्न उपाध्यक्ष पौडेलको निर्देशन

admin

रुपन्देही, २३ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीलाई बलियो बनाउने गरी काम गर्न जिल्ला नेतृत्व र कार्यकर्तालाई सुझाव दिनुभएको छ ।

एमालेलाई कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने मुख्य अभिभारा पूरा गर्न वडा, नगर र क्षेत्रमा फैलिन उहाँले आग्रह गर्नुभयो ।

नेकपा(एमाले)को रुपन्देही जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममलाई आज भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जनताले पत्याएको शक्ति भएकाले जस्तो सुकै परिस्थितिमा पनि काम गर्छ भन्ने विश्वास दिलाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

“हामीले सरकारमा रहँदा नीति, विचार, कार्यक्रम र बजेटका दृष्टिकोणले जनताको विश्वास जित्ने गरी काम गरेका छौँ, सबै मिलेर यसलाई अझै शक्तिशाली बनाउनुपर्छ”, उपाध्यक्ष पौडेलले भन्नुभयो ।

उहाँले चरणबद्ध रुपमा निर्वाचन सुरु हुने भएकाले अधिवेशन लगत्तै त्यसको तयारीमा लाग्न आवश्यक रहेको बताउनभयो ।

केन्द्र स्थानीय र प्रदेश तहमा जित हासिल गरेर एमालेको नेतृत्वमा सरकार बनाउने गरी सक्रिय भएर जनताका बीचमा जान उहाँले जिल्ला नेता र कार्यकर्तालाई आग्रह गर्नुभयो । “हाम्रा नीति, विचारलाई कार्यान्वयन गरेर आगामी निर्वाचनमा जित हासिल गर्ने हिसाबले लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छबिलाल बिश्वकर्माले पार्टी नेतृत्वका विरुद्ध घेराबन्दी भइरहेकाले यसलाई तोडेर जोगाउन आवश्यक रहेको बताउनुभयो ।

पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी बलियो हुन असल नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । दुई दिनसम्म चल्ने अधिवेशनमा सहमतिमै नयाँ नेतृत्व चयन गर्नका लागि प्रयास हुने अध्यक्ष शिवराज सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया