जिम्मेवारीबाट पन्छिन मिल्दैन गौतमबुद्ध रंगशालाको स्वामित्व महानगरपालिकाले लिन्छ : मेयर दाहाल

admin

चितवन, २५ पुस : भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छिन् ।

मेयर दाहालले धुर्मुस-सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड रुपैयाँ ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि सोचेअनुसारको सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाका लागि काम अघि बढाउने बताएकी हुन् ।

(आज) आइतबार मेयर दाहालले धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्याङ्कन गरिसकेपछि रङ्गशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताइन् ।

दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन सङ्घीय सरकारलाई आग्रह गर्ने बताइन् । यस्तै उनले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको दाबी गरिन् ।

उनले देश शान्ति प्रक्रियायता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताइन् । मेयर दाहालले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताइन् । साथै मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको बताइन् ।

प्रतिक्रिया