बिजुली व्यापारको अनुमति निजी क्षेत्रलाई पनि दिने तयारीमा छौँ : मन्त्री भुसाल

admin

काठमाडौं, २६ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छिन् ।

(आज) सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुर्‍याउनका लागि सरकारले निजी क्षेत्रलाई त्यसको अनुमति दिने तयारी गरेको बताएकी हुन् ।

सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारका लागि अनुमति दिइसकेको पनि मन्त्री भुसालले बताइन् । निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधिको खाका तयार गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायसँग पनि छलफल गरिने उल्लेख गरिन् । मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता बिजुली खपतलाई बढाउँदै लगेको बताइन् ।

देशको समृद्धिका लागि बिजुलीको उत्पादन र खपत बढाउनुपर्नेमा उनको जोड छ । देशको प्रतिव्यक्ति बिजुली खपत न्यून रहेकाले कम्तीमा त्यसलाई सात सय युनिट पुर्‍याउनुपर्ने मन्त्री भुसालले भनिन् । बिजुली खपतलाई बढाउनका लागि सरकारले विद्युतीय चुलोको प्रयोग र विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पारिन् ।

प्रतिक्रिया