पूर्वराजा ज्ञानेन्द्रले भने– देश पराईहरुको खेल मैदान बनिसक्यो

admin

काठमाडौं, २६ पुस : पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबारको पृथ्वी जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै नेपालीलाई स्वतन्त्र, सार्वभौम र गौरवशाली नेपालीको वैभव पृथ्वीनारायण शाहबाट प्राप्त भएको उल्लेख गरेका छन्।

पृथ्वीनारायण शाहको राष्ट्रभक्ति, साहस र नेपालीको आँट र आकांक्षाबाट नै नेपाल राष्ट्रको सिंगो स्वरुप खडा भएको उल्लेख गर्दै राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र पृथ्वीनारायण शाहको योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसुस गरेको पूर्वराजा शाहले उल्लेख गरेका छन्।

राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्वेदनशीलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला नेपालले असन्तुलनको परिणाम व्यहोरेको उल्लेख गर्दै पूर्वराजा शाहले भनेका छन्- ‘देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्।’

राष्ट्रको कीर्ति र जनताको सुखबाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने उल्लेख गर्दै पूर्वराजा शाहले जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसूुकै चयन गरे पनि राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुने उल्लेख गरेका छन्।

उनले भनेका छन्- प्रणाली केवल साधन हुन् । साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन्।

सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नु पर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्न नहुने निश्कर्षमा पुग्न विलम्व गरिनु हुँदैन।

प्रतिक्रिया