राजेन्द्र लिङ्देनको प्रश्न : पृथ्वीनारायाण शाहले नेपाल एकीकरण नगरदिएको भए राष्ट्रपति र प्रधानमन्त्री कहाँको हुनुहुन्थ्यो ?

admin

काठमाडौं, २७ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई आन्दोलनको रुपमा अघि बढाउने बताएका छन् ।

(आज) मंगलबार काठमाडौंको सिंहदरबार अगाडी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेको भन्दै अर्को बर्ष राष्ट्रिय दिवसका रुपमा मनाउन आन्दोलनको रुपमा अघि बढ्ने बताएका हुन् ।

पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिएकै कारण नेपाल रहेको तथा नेपालभित्र राष्ट्रपति र प्रधानमन्त्री रहेको भन्दै उनले राष्ट्रनिर्माताको सम्मान गर्नु सबैको कर्तव्य भएको जिकिर गरे । उनले अहिलेको पुस्ताले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नहुने धारणा पनि राखे ।

सोहीक्रममा अध्यक्ष  लिङ्देनले पृथ्वीनारायाण शाहले नेपाल एकीकरण नगरदिएको भए राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा कुन देशको राष्ट्रपति र प्रधानमन्त्री हुन्थे भनेर समेत प्रश्न गरेका छन् ।

सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका लिङ्देनले राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेका हुन् । उनले नेपाल एकीकरण गर्ने व्यक्तिको बारेमा सरकारले उचित सम्मान दिन नसकेको बताए ।

उनले नेपालको राष्ट्रपति र प्रधानमन्त्री चाहिँ हुने, तर त्यही नेपाल एकीकृत बनाउने पृथ्वी नाराणप्रति भने सम्मान नगर्ने कार्य गलत भएको टिप्पणी गरे । पृथ्वी नारायणको जन्मदिनमा (आज) मंगलबार विदा नदिएकोमा सरकारप्रति आक्रोश व्यक्त गर्दै लिङ्देनले सडकबाटै दबाब दिएर राष्ट्रिय पर्वको रुपमा मनाउन बाध्य बनाउने दाबी गरेका छन् ।

प्रतिक्रिया