लिपुलेकबारे नेपाल सरकारको मौनता आपत्तिजनक : विवेकशील साझा

admin

काठमाडौं, ३० पुस : विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र नेपाल सरकार मौन रहेको बारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

(आज) शुक्रबार एक विज्ञप्ति निकालेर विवेकशील साझाले ध्यानाकर्षण भएको जनाएको हो । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा त्यो नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ’, उक्त विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दुरगामी असर देशले भोग्नुपर्ने विवेकशील साझाको भनाइ छ ।

नेपाली भू-भागमा छिमेकीको मनपरी कुनै पनि देशप्रेमी नागरिकलाई स्वीकार नहुने बताउँदै पार्टीले भनेको छ, ‘नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कुटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दछ ।’

प्रतिक्रिया