काठमाडौं, ३० पुस : काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबार भित्रै दुर्वव्यवहार गरेका छन्।
शिक्षा मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठक सकेर बाहिरिने क्रममा नोबेल मेडिकल कलेजका अध्यक्षसमेत रहेका शर्मामाथि सोही कलेजका विद्यार्थीले कालोमोसो दलेर दुर्व्यवहार गरेका हुन्।
दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चार जनाको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भनेर आन्दोलनरत विद्यार्थीहरूले शर्मामाथि दुर्व्यवहार गरेका हुन्।
शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूकी महासचिव आरती लामाले अध्यक्ष शर्मालाई मोसो दलेको बताए। मोसो दलेपछि प्र ह रीले अनेरास्ववियूका उप-महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिइन्।
‘हाम्रो संगठनका पाँच जना साथीहरू जानुभएको थियो। दुई जना साथीहरूले मोसो दल्नुभएको हो,’ उनले भनिन्। महानगरीय प्र ह री परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले उनीमाथि गालीगलौज गरी दुर्व्यवहार भएको बताए।
‘वार्ता सफल भएन। अनि फर्किनेक्रममा भर्बल रूपमा गाली गरिएको हो,’ उनले भने, ‘वार्तामा सहमति नभएपछि त्यहाँ गएकै टोली मध्येका केहीले गाली गरी दुर्व्यवहार गरेको हो। चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं। अरू केही होइन।’