पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : मन्त्री आले

admin

काठमाडौं, २ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला निरीक्षण गरेका छन् ।

(आज) आइतबार पशुपतिको धर्मशाला निरीक्षणमा पुगेका मन्त्री आलेले प्रतिक्रिया दिदैँ उक्त धर्मशाला देखेर आफू ‘सक’ भएको समेत बताएका छन् ।

छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटेलजस्तो देखेर आफू सक भएको बताएका हुन् ।

छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउने बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार पाँच सय र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए ।

त्यस्तै, धर्मशालामा अनधिृकत रुपमा पार्टी प्यालेशपनि सञ्चालन गरिएको पाईएको भन्दै उनले आक्रोश पोखेका छन् । आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

कतिपय संरचनाहरु अनुमति विना बनाइएको पनि मन्त्री आलेले बताए । यसमा भारत सरकारको २५ करोड लगानी रहेको बताउँदै मन्त्री ओलेले भने, ‘तीर्थयात्रीहरु सस्तो सुलभ मूल्यमा बस्न पाउन् भन्ने उद्देश्यले बनाइएको धर्मशाला धर्मशालाको रुपमा नभएर शानदार आलिशान, छ ।’

सोही क्रममा उनले भने’  ‘सेभेन स्टारको हाराहारीमा मैले पाएँ । नेपाल-भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।’

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा धर्मशाला बनाइएको थियो । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।

त्यहाँ बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया