इजरायलका लागि आज ९९ जना नेपाली कामदार उड्ने, दोस्रो चरणमा एक सय ६२ जना लगिने

admin

काठमाडौं, ५ माघ : रोजगारीका लागि ९९ जना नेपाली कामदार (आज) बुधबार इजरायल उड्ने भएका छन् । उनीहरु बुधबार राति ११ बजे इजरायलका लागि उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायल जाने कामदारका लागि यो पहिलो उडान हुनेछ ।  बुधबार ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायल जान लागेका विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भूसालले जानकारी दिए ।

यस्तै जनवरीको २९ र फेब्रुअरी १ तारिक अर्थात् माघ १५ र १६ गतेका दिन दुई उडान हुने पनि उनले जानकारी दिए । दोस्रो चरणमा एक सय ६२ जना इजरायलका लागि उड्नेछन् । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो ।

श्रम सम्झौतापछि विभागले विज्ञापन सुरु गरेको २५ औँ हप्तामा नेपाली कामदारलाई इजरायल पठाउने टुङ्गो लागेको हो । इजरायलको रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा अहिलेसम्म नौ सय ९४ जना कामदारसँग सम्झौता भइसकेको छ ।

विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम नाम छनोट गरेको थियो । त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको थियो ।

प्रतिक्रिया