नेपालले चार देश सहभागी टी–२० सिरिज खेल्ने

admin

काठमाडौं, ८ माघ : अर्को महिना ओमानमा आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदै छ ।

प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्नेछ । ग्लोबल छनोटअघि नेपालले चार राष्ट्र सहभागी अन्तर्राष्ट्रिय टी–२० सिरिज क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्राप्त गरेको छ ।

ओमानमै हुने सो सिरिजमा आयरल्यान्ड र युएई पनि सहभागी हुनेछन् । नेपाल, ओमान, आयरल्यान्ड तथा युएईलाई अर्को वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुने टोलीका रूपमा हेरिएको छ ।

ग्लोबल छनोटअघिको सिरिज अभ्यास खेलका रूपमा समेत रहेको छ । ग्लोबल छनोटका लागि प्रमख प्रशिक्षक पुबुदु दासानायेकेले खेलाडी १६ खेलाडी घोषणा गरिसकेका छन् ।

योपटकको नेपाली टोलीमा फास्टबल सोमपाल कामी र विनोद भण्डारीजस्ता सिनियर खेलाडीले स्थान बनाउन सकेनन् । लोकेश बम र विवेक यादवले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए ।

लामो समयपछि शरद भेषवाकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । ग्लोबल क्वालिफायरमा नेपाल समूह एमा छ ।

यस समूहका खेल १७ देखि २४ फेबु्रअरीमा ओमानमा हुनेछ । समूह एमा आयोजक ओमानसहित, युएई, आयरल्यान्ड, फिलिपिन्स, क्यानडा, बहराइन र जर्मनी छन् । यस समूहबाट शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।

ग्लोबल छनोट बी जुलाईमा जिम्बाबेमा हुनेछ । जिम्बाबे, हङकङ, न्यु जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । ग्लोबल छनोट बीबाट पनि शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

अस्ट्रेलिया र न्युजिल्यान्ड पहिलो खेलमा भिड्ने
अस्ट्रेलियाले सन् २०२२ को अक्टोबरमा पुरुष टी–२० विश्वकप आयोजना गर्दै छ । यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रतियोगिताका खेलतालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिताको साबिक विजेता तथा आयोजक राष्ट्र अस्ट्रेलियाले उपविजेता न्युजिल्यान्डविरुद्ध आफ्नो पहिलो खेलमै प्रतिस्पर्धा गर्नेछ । २२ नोभेम्बरमा अस्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

१६ अक्टोबरमा प्रतियोगिताको उद्घाटन खेल हुनेछ । जसमा पूर्वविजेता श्रीलंकाले नामिबियाको सामना गर्नेछ । यसपटक शक्तिशाली राष्ट्रहरूको खेल पहिलो चरणमा देखिएको छ ।

भारत र पाकिस्तान २३ अक्टोबरमा भिड्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल ९ नोभेम्बरमा सिड्नीमा हुनेछ ।

१० नोभेम्बरमा एडिलेडमा दोस्रो सेमिफाइनल हुने आइसिसीले जनाएको छ । सुपर १२ को ग्रुप १ मा अस्ट्रेलियासँगै न्युजिल्यान्ड, इंग्ल्यान्ड र अफगानिस्तान छन् ।

सुपर १२ को ग्रुप २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । पहिलो चरणको समूह एमा श्रीलंका र नामिबियासँगै ग्लोबल क्वालिफायरबाट छनोट भएका दुई टोली रहनेछन् ।

समूह ‘बी’मा वेस्ट इन्डिज र स्कटल्यान्डसँगै क्वालिफायरबाट छनोट भएका दुई टोलीबीच खेल हुनेछ । गत अक्टोबर– नोभेम्बरमा भएको टी–२० विश्वकप २०२१ को उपाधि अस्ट्रेलियाले जितेको थियो ।

प्रतिक्रिया