सिंहदरबारको स्वरूप फेर्न साढे नौ अर्बको गुरुयोजना

admin

काठमाडौं, ११ माघ : सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको स्वरूप फेर्न साढे नौ अर्बको गुरुयोजना बनाएको छ ।

सिंहदरबारलाई खुला र व्यवस्थित गराउन लागेको हो । योजनाअनुसार सबै मन्त्रालय सिंहदरबारभित्रै अटाउनेछन् भने हाल सिंहदरबारभित्र रहेका आधा दर्जन कार्यालय अन्यत्र सारिनेछन् ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारबाहिर छ । संसद् भवन पनि सिंहदरबारभित्रै बनिरहेकाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अब एकै पर्खालभित्र अटाउनेछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगाना नेतृत्वको सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन निर्देशक उपसमितिले गुरुयोजनाको मस्यौदा तयार गरेर मुख्यसचिव शंकरदास बैरागीलाई ब्रिफिङ गरिसकेको छ । बैरागी सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन निर्देशक समितिको संयोजक हुन् ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी एवं उपसमितिका सदस्यसचिव राजु न्यौपानेका अनुसार सिंहदरबारलाई खुला र व्यवस्थित बनाउन बबरमहलस्थित वन परिसरमा तीनवटा ब्लकको एउटा प्रशासनिक प्लाजा बनाउने प्रस्ताव गरिएको छ ।

सिंहदरबारबाट हटाउने प्रशासनिक कार्यालय त्यहाँ एउटै छाताभित्र रहनेछन् । उक्त प्लाजाका लागि ६ अर्ब र सिंहदरबारभित्र संरचना निर्माणका लागि साढे तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ  ।

प्रतिक्रिया