प्र्याङ्क भिडियो खिचे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी

admin

काठमाडौं, १३ माघ : गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिविना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

मन्त्रालयले आज बिहीवार एक सूचना निकालेर सम्बन्धित व्यक्तिको अनुमतिविना तस्बिर खिच्ने र भिडियो बनाउने र ती व्यक्तिलाई जानकारी नै नदिइ सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो (प्र्याङ्क) तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न मन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवम् शान्ति सुव्यवस्थामा नकारात्मक प्रभाव पर्न सक्ने मन्त्रालयले बताएकाे छ ।

साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्न सक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिविना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराएको हो ।

प्रतिक्रिया