काठमाण्डौ विश्वविद्यालयले बीटेकएडको पढाइ सुरु गर्ने

admin

काठमाडौं, १६ माघ : काठमाण्डाै विश्वविद्यालयले ब्याचलर अफ टेक्निकल एजुकेसन (बीटेकएड) को पठनपाठन सुरु गर्ने भएको छ ।

विश्वविद्यालयले आज आइतवार पत्रकार सम्मेलन गरी सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयमा बीटेकएडको पढाइ सुरु गर्न लागेको जानकारी दिएको हो ।

प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गर्ने जनशक्ति उत्पादन गर्न पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेलले जानकारी दिनुभयो ।

नेपालमा प्राविधिक तथा व्यावसायिक विषयको पठनपाठन सुरु भएको झन्डै साढे तीन दशक बितिसक्दा पनि ती विषय अध्यापन गर्ने शिक्षक उत्पादन नभएको बताउँदै उहाँले अब आफूहरूले नेपालमा पहिलो पटक ती विषय अध्यापन गर्ने व्यावसायिक जनशक्ति उत्पादन गर्ने बताउनुभयो ।

उहाँले साधारण धारतर्फका शिक्षकले प्राविधिक विषय पढाउन नमिल्ने भएकाले अहिले त्यस्ता संस्थामा अध्यापनरत शिक्षकलाई अध्यापनको औपचारिक विधिसँग नजोडिएको बताउनुभयो ।

बीटेकएड अध्ययन गर्न न्यूनतम कक्षा १२ वा सम्बन्धित विषयमा डिप्लोमा गरेको हुनुपर्ने तोकिएको छ । चार वर्षको अध्ययनका लागि पाँच लाख ७२ हजार रुपियाँ खर्च लाग्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले सिभिलमा २० जना, सूचना प्रविधिमा ५० जना र मेकानिकल विषयमा ३० जना विद्यार्थी भर्ना गर्ने जनाएको छ ।

जानकी कलेज अफ प्रोफेसनल स्टडिज जनकपुर, सिन्धुली सामुदायिक प्राविधिक इन्स्टिच्युट सिन्धुली र बुटवल टेक्निकल इन्स्टिच्युट बुटवलमा यी विषयको अध्ययन सुरु हुनेछ । यसका लागि भर्ना आवेदन माग गरिसकिएको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया