सभामुखको आह्वानमा आज सर्वदलीय बैठक

admin

काठमाडौं, २ फागुन : सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

दिउँसो २ बजे बस्ने बैठकमा महाअभियोग प्रस्तावको प्रक्रिया अगाडि बढाउनेबारे छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

महाअभियोग प्रस्ताव दर्ता भएको मितिले सात दिनपछिको कुनै बैठकमा छलफल हुने गरी सभामुखले दिन र समय तोक्ने संविधानमा व्यवस्था छ ।

तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछ ।

प्रस्ताव पेस भएपछि सभामुखले प्रस्तावमा छलफल हुने समयावधि निर्धारण गर्ने र छलफल समाप्त भएपछि सभामुखले त्यस्तो प्रस्तावलाई नियम बमोजिमको महाभियोग सिफारिस समितिमा पठाउने व्यवस्था छ ।

समितिले प्रारम्भिक अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिलाई महाभियोग लाग्न सक्ने मनासिब र पर्याप्त आधार देखिएमा महाभियोगको सिफारिस पेस गर्नेछ ।

यसरी पेस भएको सिफारिस बैठकमा निर्णायार्थ पेस गर्दा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्या एक चौथाइ सदस्यले समर्थन गरेमा महाभियोगको कारबाहीको प्रकृया सुुरु हुन्छ ।

महाअभियोग प्रस्ताव पारित गर्न चाहिने दुई तिहाइ सांसद भने सत्ता गठबन्धनसँग छैन । सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्दा गठबन्धनमै आबद्ध जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदको हस्ताक्षर छैन ।

प्रमुख प्रतिपक्ष एमालेले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । २ सय ७५ सदस्यीय सङ्घीय प्रतिनिधि सभामा सभामुखसहित २ सय ७१ जना कायम छन् । तीमध्ये सबैभन्दा धेरै एमालेका ९८ सांसद र कांग्रेसका ६३ सांसद छन् ।

माओवादी केन्द्रका सभामुखसहित ४९, नेकपा एकीकृत समाजवादीका २३, जनता समाजवादीका २१, लोकतान्त्रिक समाजवादीका १३, राप्रपा, नेमकिपा, राजमो र स्वतन्त्रतर्फ एक/एक सांसद रहेका छन् । सभामुख र निलम्बनमा रहेका ४ जना सांसदले मतदानमा भाग लिन पाउँदैनन् ।

महाभियोगलाई पारित गर्नका लागि सांसद सङ्ख्याको दुई तिहाइ अर्थात १ सय ८१ सांसदको मत आवश्यक पर्छ । एमालेको सहयोग विना महाअभियोग पारित गर्नका लागि संसद्को अङ्कगणित पुग्दैन।

 

प्रतिक्रिया