तिमी यसलाई जे पनि भन्न सक्छौ तर म प्रेमपत्र भनेर लेखिरहेको छु

admin

लेखक: स्वागत नेपाल (अध्यक्ष: उन्नत लोकतन्त्र पार्टी )

मेरी माया ! मेरी सपना !! तिमी यसलाई जे पत्र पनि भन्न सक्छौ तर म प्रेमपत्र भनेर लेखिरहेको छु ।

मलाई थाहा छ, यो प्रेमपत्र दोस्रो विश्वयुद्धताकाका वेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले १९ जुलाई १९४२ मा प्रेमिकालाई लेखेको प्रेमपत्रजस्तो ६ लाख डलरमा बिक्री हुने मूल्यको हुने छैन । न त प्रेमपत्रका कारण पेरुका तत्कालीन उपराष्ट्रपति राउल दिय बान्सोकोले पत्रकारसम्मेलन गरी पदासन जोगाउनजस्तो कसैसँग मैले यो प्रेमपत्रका कारण माफी नै माग्नुपर्छ ।

बरु, १४ वर्षसम्म प्रेमपत्रको जवाफ पर्खेर बस्ने कार्ल माक्र्सकी प्रेमिका जेनीलाई माक्र्सले पहिलै वाक्यमा “तिमीभन्दा पनि तिम्रो विचारलाई मैले माया गर्छु, मन पराउँछु” भनेजस्तै भनिदिन्छु र उनलेजस्तै माफी माग्छु । र, तिम्रो विचारमा सम्मानपूर्वक असहमति जनाउँछु । तर, के गर्ने माक्र्सको पत्र कुरेर १४ वर्षसम्म बसेकी जेनीले पत्र पाएपछि त्यही शोकले थलिएका माक्र्सको सर्दी बढेर ब्रोंकाइटिस समेत भएपछि हिजोआजका फिल्ममा लवेरिया नै भन्न सकिने रोगले कार्ल माक्र्सको मृत्यु भयो । सायद त्यसको विरासत अहिलेको नेपालमा मेरो हाल पनि त्यस्तै हुने छ ।

तिमी अत्यन्त सुन्दरी थियौ, र अहिले पनि उत्तिकै । तिमी नेपालतिर आउँदै गर्दाका समय म सम्झिरहेको छु– सन १९९०/९१ र वि.सं. को २०४६/०४७ दक्षिण अफ्रिकामा नेलसन मण्डेला तिमीलाई कुरेर २७ वर्षदेखि एउटा अँध्यारो अकल्पनीय कालो जीवन विताइसकेपछि तिमीलाई भेट्न मात्र पाउँदै थिए । उनले २६ अक्टोबर १९७६मा कालकोठरीबाटै प्रेमिका विन्नीलाई लेखेको पत्र सम्झन्छु – मसँग सुरक्षित तिम्रो तस्वीरको नाक एकदम मनपर्छ र जब तिम्रो त्यो तस्वीरको नाकसँगै मेरो पनि नाक छाम्छु, मेरो सम्पूर्ण रक्तकोशिकाबाट विद्युतीय तरंग उत्पन्न हुन्छ र उत्तेजित बन्छु हाम्रो दिन ल्याउन । सबैको साझा दिन ल्याउन ।

म पनि यता श्रमजिवी जनताको दिन ल्याउन, मैले तिमीसँगै हुन ४० कटेसी रमाउँला भन्दै पर्खन नपर्ने दिन ल्याउन,मेरो देशमा मेरै परिवारका सदस्यको ज्यान लिएर लोकतन्त्र गणतन्त्र आए पनि आन्दोलनमा घाइते भएर बाँचेको मैले यतिका नेताको जागिर हुँदा पनि आफूले चाहिँ अरब, दुवइ, कतार र मलेसियाको सरकारसँग जागिर माग्न नपर्ने दिन ल्याउन ।

१८९१ मै स्थापित हाल विश्वविख्यात फिलिप्स कम्पनिका संस्थापक लायन फिलिप्सकी भतिजी जेनीले कार्ल माक्र्सबाट एउटी छोरी बाहेक के नै पाइन् र जीवनमा, त्यसैलाई महान् ठानिन् । तर, महासामन्त परिवारबाट रहेकी मण्डेलाकी प्रेमिका विन्नीले उनैलाइै कु्रेर कालकोठरीमा बसिरहेको प्रेमी मण्डेलाबाट आफूलाई त्यतिसमय एक्लो बनाएर निरास पारेको भन्दै उल्टो हर्जाना सम्बन्ध विच्छेदमार्फत पूरा गरिन् त्यहाँको सर्वोच्च अदालतबाट । त्यतिमात्र होइन ५ विलियन डलर मण्डेलाले तिर्नु नै पर्यो ।

मण्डेलाले के त्याग गरे र विन्नीका लागि र ? यो विन्नीको तर्क थियो । विन्नीले के छोडिनन् ? सारा सारा सम्भावनाहरु छोडिन् रे । प्रेमका लागि के त्यागे र मण्डेलाले ?बुढेकालमा साथी भेटाएर फेरि विच्छेद भोगेका मण्डेलाले आफ्नो वकिल डेलि पोफसँग भनेका थिए– यो अदालतलाई भनेर केही फाइदा छैन । तर म पनि त एउटा पीडामा थिएँ नि कालकोठरीका २७ वर्षसम्मको लामो रात विताउँदा । अहिले फेरि अलिकति जीवनको उज्यालो दिएर खोस्ने उसले मलाई चाहिँ के केही पनि क्षति पुर्याएकी छैन ? त्यसको क्षतिपूर्ति के हुन्छ त ? तर वकिलको भनाइ थियो , जोसँग केही छैन उसको पनि क्षति, त्याग हुन्छ कहिँ ?

हो, के नै त्यागेका थिए र मण्डेलाले विन्नीका लागि ? बरु, नेदरल्याण्डका युवराज जोन फ्रिस्कोले मानवअधिकारवादी मावेल पिस्से स्मिथसँग विवाह गरेकोले आफ्ना सम्पूर्ण मान् पद्वीहरु त्यागे ।

डेनिस राजकुमार फ्रेडरिकले अष्ट्रेलियन जग्गा दलाल महिला मेरी एलिजावेथ डोनाल्डसँग विवाह गरेकै कारण आफ्ना राजकीय उन्मुक्तिहरु गुमाए । सम्झिरहेछु प्रेमका लागि केही समय अघिका यी त्यागहरुलाई र निकट भविष्यमा पूर्व बन्न लागेका, पूर्व भइसकेका र सुदुरपूर्व प्रधानमन्त्रीहरु देशको मायामा राजीनामा गरेर प्रधानमन्त्री पद पनि त्याग गरेको कुरा बताइरहँदा तिम्रो (‘लोकतन्त्रका’) लागि त्याग्नलाई एउटै ज्यान बाहेक केही दिन नसक्ने म भन्न खोज्छु– भएको भए म पनि त्याग गर्ने थिएँ प्रधानमन्त्रीको पद र राजकुमारका सुविधाहरु ।

रुसमा जार शाही पतन भएपछि केरेन्स्कीको अध्यक्षतामा एउटा सर्वपक्षीय सरकार गठन हुने भयो । तर उनले प्रिन्स क्रोपाटकिन कहाँ गएर अध्यक्षता गर्न आग्रह गरे र, उनले सित्तैमा र चिठ्ठाजस्तो पद प्राप्ती आफ्नो सिद्धान्तको विपरित भएकोले बरु म जुत्ता सिलाएर मेरी प्रेमिकासँग रुखो सुखो खाएर बस्छु तर प्रधानमन्त्री बन्दिनँ भनेर फर्काइदिए । उता उनको पारिवारिक प्रेमजीवन त्यही कारणले ध्वस्त भयो । उनी नालायक ठहरिए । यतिबेला तिमीजस्तो सुन्दरतम्, सुशील र आदर्श प्रेमीकाका लागि प्रधानमन्त्री पद पाउन लाग्दा होइन पाइसकेर र लुट्नु लुटेर त्याग्नेहरुका पछि लागेको देखेर छक्कैपर्छु म यता ।

अति सामान्य घरकी सोन्जा महारानी बनेको देखेर होस् कि नर्वेली युवराज हाकोनले सामान्याति सामान्य परिवारबाट टपक्क टिपेर मेट्टे मारिट्लाई महारानी बनाएको देखेर होस् तिमी चमत्कारमा विश्वास गर्न थालेकी छ्यौ । यी सबले किन संघर्ष र आफ्नै परिश्रममा बाँच्ने इमानदारी हराइरहेको छ : कुनै दिन म पनि कुनै युवराजको नजरमा परौंला र एकाएक महारानी युवराज्ञी बनौंला भन्ने चमत्कारको सपना देखिरहेकी तिमीले हुँदाहँदा सन् अनलाईनमा महिला मामिला सम्बन्धी उपसम्पादक सिनेड डेस्पोण्डाले युवराज्ञी बन्न वा राजकुमारहरुका लागि मनपर्दी बन्न सिकाउने खान, श्रृंगार पहिरन आदि बारे सामग्री प्रकाशित गरिदिए र तिमी त्यसकै खोजी र अध्ययनमा लाग्न थाल्यौ ।

किन नबुझेकी होला, मण्डेलालाइ लोकतन्त्र तिमी यति मन पर्यो कि तिमी गुम्ने खतरा त के शंका मात्र पनि झिनो भएको कारण तिमीलाई बचाउन दुइतिहाइ मत पाएर समेत आफ्नै विरोधीलाई पनि सँगै लिएर अनुपम, उदार र सुन्दर राज्यघरको इतिहास शुरु गरे ।

शक्ति बिना भावना मात्र भएर के हुनेरहेछ र मायााक लायि ? जनताका सामु धुरुधुरु रुवाउने गरी भाषण गर्ने चीनका राष्टपिता डा. सन् यात्सेन्जस्तो हातबाट शक्ति फुत्किहाल्ने रैछ । शासन शुरु गरेको केही समय पनि बित्न नपाउँदै कठोर बनेर आदेश दिन नसक्दा र सबैको विचार बुझ्न खोज्दाखोज्दै फुत्किए शक्तिबाट । सुन्दर सत्तामा अर्को आइ पुग्यो । कमजोरलाई त सुन्दरताले पनि छोडिदिने रहेछ । सुन्दरताले शक्ति खोज्छ अर्थात् सुन्दरताले संरक्षण र सुरक्षा खोज्छ । त्यसले आफूलाई बचाएर राख्न सक्ने शक्तिवान् व्यक्ति खोज्छ । तर त्यो व्यक्ति नै कोमल बनेर निर्णय लिन अरुको चित्त दुख्ला भनेर विचार बुझ्न थाल्यो भने नजिकमा आउने अर्को शक्तिवान्सँग सुन्दरताले छायाँ खोज्छ । सत्ताको र लोकतन्त्रको सुन्दरता पनि तिमीजस्तै रहेछ ।

साँच्चै तिमी एकदम सुन्दर थियौ । र , जब म तिमी सामु परेको थिएँ म त तिम्रा अघि मिठाइ पसलमा स्वतन्त्र छोडिएको एउटा निर्दोष बालकजस्तो जहाँसुकैबाट जेसुकै पनि झिकेर खान खोजेछु । लड्डु, रसवरी, पेडा आदि आदि !! फेरि सम्झन्छु होइन, तिम्रो प्रेमका लागि दुश्मनविरुद्ध क्रुरताका साथ लड्दालड्दै आफैँभित्र भएको तिमीप्रतिको प्रेम पनि मैले गुमाएछु । तिम्रै लागि लड्दा लड्दै अन्तिममा तिमीलाई नै गुमाउने भएँ । बसाइँ सरुँ । पहिला पहिला गरिबहरु बसाइँ हिँड्थे । अहिले त धनीहरु बसाइँ हिँड्छन्, त्यही राजा भएका देश जपान, बेलायत, फ्रान्स आदि आदितिर । मर्नका लागि विष किन्ने पैसा त हुन्न अनि मृत्युदण्डभन्दा कठोर जीवनदण्ड भोग्ने मान्छेलाई कतार, मलेसिया जान पनि ऋण कहाँ पाइन्छ र रु स्थिति सुधारेर तिमीलाई भेट्न त फेरि उही होला!!!

त्यतिञ्जेलसम्म यता हाम्रा नेपाली मण्डेला, क्रोपाटकिन र सन् यात्सेनहरु आफ्नी प्रेमिका मरिसकेपछि पनि अत्यन्त मायाले लास बाँध्नका लागि पनि कडा होइन है भन्दै नरम काँचा धागाहरु खोजिरहेका हुनेछन् होला ! तर , विचार बुझ्ने होइन आदेश दिनेले आफ्नो प्रेम विज्ञप्ती, पत्रकारसम्मलेनहरुबाटै उजागर गरिरहेका हुनेछन् ।

त्यस्तो दुस्वप्न विपनै राम्रो नभएकाहरुले नदिदाइकन देखिरहेका हुन्छन् किनकि यहाँ सँगसँगै बाँच्नेभन्दा बढी सँगसँगै मर्ने कसम खाइन्छन् । फेरि आत्महत्याका पनि इस्युहरु अचम्म अचम्मका छन् यतिबेला । जापानमा एउटी तिमीजस्तै टिनेजर बुद्धि भएकी चेलीले घरको आफ्नो कोठामा अभिभावकले आफूलाई मन नपर्ने रंग गरिदिएको भनेर आत्महत्या गरिछिन् । डर लाग्छ मलाई तिमीलाई त मर्न उक्साउने कति छन् कति । आफू मर्यो भने तिमी बाँच भन्ने होइन सँगसँगै मर्नुपर्छ भन्ने कसम खुवाइन्छ अनि तिमी उसैको जिन्दावाद भन्छ्यौ त मेरो के लाग्छ ?! जब कि म मरे पनि तिमी बाँचिरहू भन्छु म । किन कुरा नबुझिरहेकी तिमीले र ?

ठीकै छ अहिले सम्बन्ध केही चिसियो त के भयो ? तिम्रा बिटाका बिटा कुनै दिन चाहिन्छ भनेर जतन गरीगरी राखिएका पूर्वराजाका तस्बीर भएका नोटहरु जो घाँटीमै दुइ टुक्रा भएर टुक्रिएका पनि छन्, तिनलाई जोडेर चलाउन सकिन्छ नि ? च्यातिएको नोट फेरि टाँसेर जीवन्त बनाएजस्तो फेरि किन सकिन्न मान्छेहरुका सम्बन्धहरुलाई जोड्न फेरि उसैगरी ! ?
तिमी फेरि एक पटक सम्झिदेऊ, बिदा !

स्वागतनेपालडटकमबाट साभार

प्रतिक्रिया