एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता

admin

काठमाडौं, ५ फागुन :  नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओलीसहित एमालेका पाँच नेताबिरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ ।

बिहीबार अनेरास्ववियुले झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन भूमिव्यवस्थामन्त्री पद्मा अर्यालबिरुद्ध उजुरी दर्ता गरेको हो ।

त्यस्तै स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै सिसिएमसीका तत्कालिन संयोजक इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालबिरुद्ध पनि उजुरी दर्ता गरिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिनुभयो ।

त्यस्तै भिजिट नेपाल २०२० मा बिदेशीहरुलाई व्यापक रुपमा भित्राउने उदेश्यले प्रचार प्रसारका लागि राज्यकोषको करौडौको रकम हिनामिना भएको भन्दै तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराई बिरुद्ध पनि उजुरी दर्ता गरिएको उहाले बताउनुभयो ।

अनेरास्ववियुका तर्फबाट बागमति प्रदेश कमिटी संयोजक दीपक बुढाथोकीले उजुरी दर्ता गर्नुभएको हो ।

प्रतिक्रिया