मृत्युसंस्कारमा पनि देखासिकी

admin

काठमाडौं, ६ फागुन : जाजरकोट नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गरे ।

बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उनले बताए । सोही ठाउँका पदमबहादुर खत्रीले पनि आमाको मृत्यु हुँदा ४० थान कपडा अथवा लामो ‘बाट’ हालेर दाहसंस्कार गरे ।

सिंह र खत्री मात्र होइन, अधिकांश जाजरकोटीले वर्षौंदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन् ।

शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, नीलो, रातो र पहेँलो रङको कपडा कम्तीमा तीन थानदेखि अधिकतम एक सय थानसम्म प्रयोग गरिँदै आएको छ ।

यसरी अन्त्येष्टिका लागि घरदेखि घाटसम्म पु-याउँदा कपडामा नै लाखभन्दा बढी रुपियाँ खर्च हुने बताइएको छ ।

अन्त्येष्टिमा कपडाको प्रयोगकै आधारमा गाउँघरमा धनी र गरिब भनेर समाजले छुट्याउने गरेको ८५ वर्षीय कर्णबहादुर रावलले बताए। इज्जत र प्रतिष्ठासँग जोडेर अरूलाई देखाउन साहुसँग ऋण काढेर भए पनि लामो ‘बाट’ हाल्ने होडबाजी चल्दै आएको उनले जनाए ।

अन्तिम संस्कारका लागि शवलाई घरबाट घाट लैजाँदा अगाडि टाँग्दै लगिने कपडाबाट दिवङ्गतका आत्मा स्वर्गमा पुग्छ भन्ने विश्वास छ ।

त्यसैले गाउँमा कतिपय बूढापाका अहिले पनि आफ्ना लागि आफैले धेरै थान कपडा किनेर राख्ने गर्छन् । जति लामो ‘बाट’ हालिन्छ उति छिटो स्वर्गमा पुगिन्छ भन्ने अन्धविश्वासले गर्दा बूढापाकाले आफ्नो लागि आफैँले कपडा किनेर राख्ने चलन रहेको स्थानीयवासीको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया