फिलिपिन्समाथि नेपालको फराकिलो जित, नेपाल सेमिफाइनल नजिक

admin

काठमाडौं, ७ फागुन: ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसिसी टि २० विश्वकप छनोट ए मा फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।

२ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन बनायो । नेपालको टि२० आईमा रनको आधारमा यो तेस्रो ठूलो जित हो ।

टि२० आईमा गत वर्ष त्रिकोणात्मक टि२० आईको फाइनलमा घरेलु मैदान टियुमा नेपालले नेदरल्यान्डलाई १ सय ४२ रनले हराएको थियो । जुन नेपालको सर्वाधिक ठूलो जित हो ।

फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले २७ बलमा २ चौकासहित २० रन बनाए । जोर्डन अलेग्रा ३२ बलमा २ चौका सहित सर्वाधिक २७ रनमा अविजित रहे । कप्तान जोनाथन हिलले २९ बलमा ११ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

फिलिपिन्सका ओपनर कपिल कुमारलाई दोस्रो ओभरको तेस्रो बलमा जितेन्द्र मुखियाले ४ रनमा सन्दीप लामिछानेबाट क्याच गराए । नवौं ओभरमा सन्दीपले दुई विकेट लिए ।

नवौं ओभरको पहिलो बलमा ड्यानियल स्मिथलाई आसिफ शेखबाट २० रनमा स्टम्पिङ आउट गराए । स्मिथले २७ बलमा २ चौका प्रहार गरे ।

अन्तिम बलमा सन्दीपले ह्यारी टेलरलाई १ रनमा बोल्ड आउट गरे । ११ औं ओभरको दोस्रो बलमा सन्दीपले रिचार्ड गुडविनलाई आसिफबाट शून्यमा स्टम्पिङ आउट गराए । सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । नेपालका अभिनाश बोहरा, गुलशन झा, कुशल मल्ल, जितेन्द्र मुखिया र दीपेन्द्रसिंह ऐरीले –१ विकेट लिए ।

त्यसअघि मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले । कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका गरेका थिए । कुशल नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् ।

अर्का युवा ब्याटर दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्का सहित ८३ रनमा आउट भए । गुरभुपेन्द्रर चोहानले १९ औं ओभरको पाँचौं बलमा बोल्ड गरेपछि दीपेन्द्र शतकबाट चुकेका थिए । तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ७१ रनको शतकीय साझेदारी गरे ।

जुन नेपाली टि२० आईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि नेपालबाट टि२० आईमा उच्च साझेदारी २०१९ मा पारस खड्का र आरिफ शेखले दोस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय साझेदारी गरेका थिए ।

कुशल नेपालबाट टि२० आईमा शतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि नेपालबाट २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।

पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रनको अविजित शतकीय इनिङ खेल्दै टि२० आईमा शतक प्रहार गर्ने नेपालबाट पहिलो खेलाडी बनेका थिए ।

ओपनर आसिफ शेखले आफूले सामना गरेको पहिलो बलमै (गोल्डेन डक) भए । तीव्र गतिका बलर ड्यानियल स्मिथले दोस्रो ओभरको पहिलो बलमै आसिफलाई एलबीडब्लू आउट गर्दै पेभेलिएन फर्काए ।

कुशल मल्ल १० बलमा २ चौकासहित १२ रनमा आउट भए । पाँचौं ओभरको दोस्रो बलमा कुशल मल्ललाई मिग्गी पोडोस्कीले मुजाममी शहजादबाट क्याच गराएका थिए । लोकेश बम ६ रनमा अविजित रहे । फिलिपिन्सका ड्यानियल स्मिथ, पोडोस्की र चोहानले १(१ विकेट लिए ।

नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल समूह विजेता रुपमा सेमिफाइनल खेल्नेछ । पराजित हुँदा पनि नेटरनरेटको आधारमा सेमिफाइनल खेल्ने सम्भावना उच्च छ ।

समूह ए मा आयरल्यान्ड, युएई, बहरान र जमर्नी छन् । पहिलो दिन आयरल्यान्ड युएईसँग १८ रनले पराजित भयो । समूह ए बाट युएई विजेता र आयरल्यान्ड उपविजेता रुपमा सेमिफाइनल खेल्ने उच्च सम्भावना छ ।

नेपाल समूह विजेता बनेको खण्डमा आयरल्यान्ड र उपविजेता बनेको खण्डमा युएईसँग सेमिफाइनलमा सामना गर्नुपर्ने समिकरण बन्न सक्छ । फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया