आसन्न चुनाव गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

admin

काठमाडौं, ७ फागुन:  प्रधानमन्त्री शेरबहादुर देउवाले जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको बिशेष कार्यक्रममा प्रधानमन्त्री देउवाले अव छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

देउवाले सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो । उहाले प्रज्ञातन्त्र दिवसको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हकअधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय भएको उल्लेख गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणालीलाई सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको उहाको भनाई छ ।

उहाँले कोभिड–१९ को प्रकोपलाई नियन्त्रण गर्न सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको र यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल भएको बताउनुभयो ।

सरकारले स्वास्थ्य पूर्वाधार सेवा विस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास भइरहेको उहाको भनाई छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

समारोहमा नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै ‘यो नेपाली शीर उचाली…’ सहित देशप्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो ।

नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको हो ।

प्रतिक्रिया