काठमाडौं, ११ फागुन: प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने दाबी गरेका छन् । उनले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुने टिप्पणी गरे ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । उनले भने,‘मुलुक यतिवेला सबैभन्दा पेचिलो, अप्ठ्यारो ठाउँमा पुगेको छ ।
विगतमा अत्यन्तै जटिल राजनीतिक अवस्था बनेपछि यो सरकार सबै ठाउँमा ठोक्किएर बनेको हो । यो सरकारसामू एउटा चूनौति आयो । एमसीसी पास गराउन प्रधानमन्त्रीज्यू लाग्नुभयो ।
एमसीसीबारे माधव नेपालले पहिलो पत्र लेखेको हो । एमसीसीमा आवद्ध हुन पाउँ भनेर । झलनाथ खनाल, बाबुराम भट्टराई उहाँहरु प्रधानमन्त्री हुँदा एमसीसीको प्रक्रियामा सहभागी हुनुभएको छ, तर यहाँ त प्रधानमन्त्री र रक्षामन्त्री भैसकेकाले पनि नबुझी कमेन्ट गर्ने काम भयो । यो गलत हो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमसीसी देशको हितमा भएको उल्लेख गरे । उनले थपे–‘एमसीसी सम्झौता पारदर्शी छ । फागनु १६ गतेसम्म पास गर्नुपर्छ ।
सबै दल एकमत भएर जानुपर्छ । दल ठूलो होईन, देश ठूलो हो । देशको अन्तर्राष्ट्रिय छवि ठूलो हो । हामीले एमसीसी पास गराउनको लागि एमालेलाई अनुरोध गरेका छौं ।
अहिले छलफल चलिरहेको छ । गठबन्धन जोगाउँ र एमसीसी पास गराउँ भन्ने हाम्रो पहिलो शर्त हो । एमसीसी फेल गरेर गठबन्धनमा हामी बस्दैनौं ।’
उनले देश ठप्प पारेर हिँड्ने कुरा कांग्रेसलाई मान्य नहुने धारणा पनि राखे । उनले भने,‘एमसीसीलाई निवेदन हालेको पनि कांग्रेसले होईन ।
एमसीसी नेपाल र नेपालीको हितमा छ । त्यही भएर हामीले सम्झौतामा हस्ताक्षर गरेको हो । सडकमा नौटंकी र जात्रा देखाईयो । एमसीसी ठिक छ कि छैन भनेर पढ्नुहोस । अनुदानको विरोध गर्नुहुँदैन् । ऋणमा रमाउने, अनुदानमा गाली गर्ने चरित्र सँगै जान सक्दैन् ।’
उनले एमसीसी पास गराऔं भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बारम्बार भनिरहेको सुनाए । उनले भने,‘संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय प्रणाली हो ।
प्रधानमन्त्रीले पनि अहिले म तपाईँहरुलाई बाहिर जानुहोस भन्न चाहन्नँ भन्नुभएको छ, यो भनेको त सबैले बुझ्छन् नि, जहाँ कमलो त्यही हिर्काउने काम गर्नुहुँदैन् । अहिले एमसीसी सदनमा टेबुल भएको छ, सभामुखले म रेफ्री हुँ भन्नुभएको छ । साना स्वार्थमा दलहरु फस्नुहुँदैन् ।’
उनले अहिले एमसीसीलाई लिएर कांग्रेस ‘हाम्रो घरमा कोही काम गर्ने भएनन, बाहिरको आउनुहोस भन्ने अवस्था’ मा पुगेको पनि सुनाए ।
उनले भने,‘अहिले एमसीसी पास गराउनको लागि गठबन्धनभन्दा बाहिर जानुपर्ने अवस्था पनि छ, अब एमसीसी पास गराउनको लागि एमालेको शर्त छन् ।
त्यसमा छलफल गरौं । मिलाउँ । निकास खोजौं । एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउनुहुन्छ ।’