नेपालको लागि नेपालीले व्यवस्था परिवर्तनको लागि भोलिदेखि काठमाडौंमा आन्दोलन गर्ने

admin

काठमाडौं, १६ फागुन: नेपालको लागि नेपालीले भोलिदेखि अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको विरोध र देशको व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने घोषणा गरेको छ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मुलुकको परिवर्तनको लागि भोलि ११ बजे काठमाडौंस्थित गौशला बत्तिसपुतलीमा एमसीसी खारेज र व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने बताएको हो । र, व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताईएको छ।

आन्दोलन देशको हित र परिवर्तनको लागि भएकोले सम्पुर्ण देशभक्त, राष्ट्रवादीहरुलाई उपस्थित हुन आग्रह गरिएको छ । कार्यक्रममा डा.सुरेन्द्र भण्डारीले जनताले विश्वास गरेर मत दिएकाहरुबाट नै आज देशले धोका पाएको टिप्पणी गरे ।

भण्डारीले संविधानअनुसार संसदमा उपस्थित बहुमतबाट एमसीसी पारित हुनुपर्नेमा सभामुखले कति पक्षमा र कति विपक्षमा छन् भनेर प्रष्ट पार्न नसकेको भन्दै अनुमोदन भएको एमसीसीको कुनै वैधानिकता नहुने पनि दाबी गरे ।

एमसीसी पास गर्नुपर्ने क्रममा १२ बुँदाको व्याख्यात्मक घोषणा वा टिप्पणीको पनि कुनै अन्तर्राष्ट्रिय कानुनमा अर्थ नहुने डा.भण्डारीले ठोकुवा गरे । सरकारले अन्तर्राष्ट्रिय कानुनले मान्यता नदिने व्याख्यात्मक घोषणा भनेर जनतालाई भ्रम छरेको उनले आरोप लगाए ।

उनले आफुहरुले एमसीसी सम्झौतामा उल्लेख गरिएका देशको अहितमा रहेका बुँदाहरुलाई नसच्याईकन जबरजस्ती रुपमा एमसीसी पारित गरिएको भन्दै आक्रोशसमेत पोखे ।

सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको एमसीसीसम्बन्धी १२ बुँदे व्याख्यात्मक घोषणामा महत्वपुर्ण कुराहरु अदालतको भुमिका र क्षेत्राधिकारको बारेमा केही छलफल हुन नसकेको बताए ।

उनले सांसदहरुलाई धोकेवाजको संज्ञा दिँदै सधैं संसद अवरोध गर्ने एमालले हिजो एमसीसी अनुमोदन गर्न थपडी बजाएको पनि आरोप लगाए ।

उनले भने,‘अब यी नेताहरुको हातमा मुलुक सुरक्षित हुँदैन र छैन् । नेपाली नागरिक नउठ्ने हो भने यो मुलुक पीडादायी अवस्थामा नै हुनेछ । अब यो शासन व्यवस्थाले राष्ट्र बचाउन सक्दैन् ।’

उनले अब नेपालका लागि नेपालीले गौशला क्षेत्रमा भोलि ११ बजेदेखि साँढे ११ बजेसम्म भेला भएर देश परिवर्तनका लागि आन्दोलन गर्ने बताए । उनले भने,‘अब एमसीसी खारेज गर्न र यो व्यवस्था परिवर्तन गर्न आवश्यक छ, यो व्यवस्था फाल्नुपर्छ ।’

उनले अहिलेको राजनीतिक व्यवस्था परिवर्तन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताए । यो आन्दोलन कुनै पार्टीले नगरेको भन्दै उनले प्रत्येक नेपालीको आन्दोलन भएको सुनाए ।

भण्डारीले कुनै दलको नभई नेपालको झण्डा बोकेर आउनको लािग पनि आम नेपाली नागरिकलाई अपिल गरे ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले हिजो संसदमा छलफल गर्न नै नपाई एमसीसी अनुमोदन गरिएको भन्दै आपत्ति जनाए । उनले भने,‘यो सन्धी र विधेयक एउटै प्रकारले छलफल हुनुपर्ने हो । सबै सांसदको हातहातमा सम्झौता हुनुपर्छ र सांसदले पढेर उनीहरुलाई चित्त नबुझेको बुंदामा छलफल गर्छन् । तर हेर्दै नहेरी एमसीसी पास गरियो ।’

महाकाली सन्धी पनि रातको १२ बजे पारित गरेको भन्दै उनले राष्ट्रद्रोही घोषणा राति मात्रै हुने बताए । उनले भने,‘गणतन्त्र पनि राति नै ल्याइएको हो ।’

केपी शर्मा ओलीले संसदमा हिजो नाटक रचेको उनले आरोप लगाए । उनले भने,‘तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु भनेजस्तै हिजो एमालेले त्यस्तै गर्यो । एमालेले विरोध नगरेर यसका सांसदहरु एमसीसीको मालिक शेरबहादर देउवाको अगाडि उभिएर मात्रै बसेका हुन् ।’

महाकाली सन्धीमा संकल्प प्रस्ताव भनिएपनि जनतालाई घात गरिएको उनले स्मरण गराए । महाकाली सन्धी पनि प्रधानमन्त्री देउवा, नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र ओलीको यही टिमले गरेको उनले आरोप लगाए । सरकारले व्याख्यात्मक टिप्पणी भनेर जनतालाई झुक्काएको उनको आरोप छ ।

एमसीसीबाट नेपाललाई हुने फाइदा भनेको त ‘मनको लड्डु घ्युसँग खाने’ मात्र भएको उनको भनाई थियो । संसद् सदस्य र राजनीतिक दलहरुले नै नेपाली जनतालाई ठगेको आरोप लगाउँदै उनले भने,‘अब नेपाल दोस्रो युक्रेन हुनेछ, अब नेपालमा १ वर्षपछि युद्ध हुनसक्छ ।’

उनले अब नेपाली जाग्ने दिन आएको भन्दै भोलिदेखि देश परिवर्तनका लागि हुने आन्दोलनमा व्यवसायी, विद्यार्थी सबैलाई सहभागी हुन आग्रह गरे । न्यौपानेले देशमा सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको सुनाउँदै भ्रष्टाचार अन्त्य गर्न सकिए एमसीसीको आवश्यकता नपर्ने तर्क गरे ।

नेपालका लागि नेपाली अभियानका प्रमुख सचिव सागर खड्काले सदनबाट एमसीसी अनुमोदन गरेकोमा विरोध जनाए । उनले आफूहरुले त्यसको विरोधमा भोलि १७ गतेदेखि गौशला बत्तिस पुतलीमा आन्दोलन गर्ने जानकारी दिए ।

एमसीसी राष्ट्रघाती हो भन्दै उनले पास गर्नेहरुको जनताले हिसाबकिताब राख्ने पनि उनले चेतावनी दिए । उनले एमसीसी अनुमोदन संसदबाट भएपनि अझैपनि समय बाँकी रहेको भन्दै देशभरका जनताहरु काठमाडौंमा आएर संसद र सांसदहरुमाथि धावा बोल्न आग्रह गरे ।

 

उनले भने,‘अब काठमाडौं घेर्नुपर्ने दिन आएको छ, गुठी विधेयकको लागि काठमाडौंबासीहरु जसरी उठ्नुभएको थियो, त्यसरी नै अब उठ्नुपर्छ ।’

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सोझा जनतालाई उचालेको भन्दै अब भ्रष्ट नेताहरुलाई खेद्नसक्ने औकात नेपाली जनताले राख्नुपर्ने बताए ।

उनले महंगी, वेथिति, भ्रष्टाचार, एमसीसीलाई रोक्न नसकेसम्म, र भ्रष्टाचारी र राष्ट्रद्रोहीहरुलाई देश र सत्ताबाट ननिकालेसम्म आफूहरुको आन्दोलन चलिरहेने बताए । देश भ्रष्टाचारमा लिप्त भएको उनको आरोप थियो । त्यस्तै, उनले नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले एमसीसीको उल्टो व्याख्या गरेको आरोप लगाए ।

नेपालको लागि नेपाली अभियानका वरिष्ठ उपाध्यक्ष प्रा. डा. कान्ता पौडेलले सरकारले एमसीसीलाई व्याख्यात्मक शब्द राखेर संसद्बाट अनुमोदन गरिएकोमा आपत्ति जनाईन् । उनले व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गर्नु भनेको नेपाली जनतामाथि ठूलो धोका दिनु भएको उल्लेख गरिन् ।

‘संसद्को हिजोको दृश्य र घटनाले सिक्किम भारतलाई दिँदा यसरी नै नाटक मञ्चन गरेको महसुस गरिएको छ ।’ उनले भनिन्,‘सन्धी गर्दा देशका जनताको अनुमति लिएर गर्नुपर्छ तर गरिएन । जनताको अनुमति नलिनु भनेको युद्धको बिउ रोप्नु हो ।’

आज नेपाल आमासँगै विपि कोइराला, जननेता मदन भण्डारी पनि रोइरहेको उनले बताइन् । उनले जुन अठोटका साथ आएका राजनेताहरुले त्यो अठोटका साथ काम नगरेको आरोप लगाईन् । अब नेपाल स्वतन्त्र मुलुक रहने पनि आफुलाई आशंका लागेको उनले धारणा राखिन् । सांसदहरुले नेपाली आमामाथि लात हानेको उनको भनाई थियो ।

अब देश बचाउने जिम्मा युवाहरुमाथि आएको भन्दै उनले युवाहरुले मात्र देश जोगाउन सक्ने बताइन् । प्रचण्डलाई १७ हजार मान्छे मारेर शक्तिमा आएको भन्दै उनले माओवादी केन्द्रकै नेताहरु गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ र देव गुरुङहरुलाई पनि ठेगान लगाउन अब प्रचण्डले अझै ठुलो कोशिश गर्नुपर्ने टिप्पणी गरिन् ।

एमसीसीको सवालमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भूमिकालाई स्मरण गराउँदै उनले अनुमोदन गर्नमा सहयोग गरेको आरोप लगाइन् । पौडेलले नेपालका लागि नेपालीले गर्न लागेको परिवर्तनको लागि आन्दोलनमा सबैलाई सहभागीता जनाउन आग्रह गरिन् ।

राष्ट्रगुरु योगी नरहरिनाथका शिष्य एवं नरहरि कोटीहोम पीठाधीश गुरु वशिष्ठले भोलि फागुन १७ गतेबाट सुरु हुन गइरहेको देश परिवर्तनको आन्दोलनमा स्वाभिमानी राष्ट्रभक्त नेपालीहरुलाई आन्दोलनमा सहभागी हुन अपिल गरे ।

प्रतिक्रिया