‘एमसीसी उपनिवेश लाद्न ल्याइयो, फागुन १५ कालो दिनमा दर्ज’: विप्लव

admin

काठमाडौं, २० फागुन : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन फागुन १५ कालो दिनका रूपमा दर्ज भएको बताएका छन् ।

६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौँमा गरेको विरोधसभामा महासचिव विप्लवले राष्ट्रहितविपरीत देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै यो दिन कालो दिनका रूपमा दर्ज भएको बताएका हुन् ।

‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो,’ उनले भने, ‘नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’

नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रुपमा पैसा दिएको उनको आरोप छ । अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाब लागि परेको भन्दै उनले एमसीसी भनेको २१ औँ शताब्दीको उपनिवेश रहेको दाबी गरे ।

अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसीसी नेपालमा उपनिवेश लाद्न ल्याएको आरोप लगाएका विप्लवले अनुदान सहयोग लिन सकिए पनि एमसीसी उपनिवेशको नीति लिएर ल्याएको जिकिर गरे ।

केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितविपरीत रहेको एमसीसी अनुमोदनमा सहमति जनाएको उनको भनाइ छ ।

प्रतिक्रिया