राष्ट्रिय परीक्षा बोर्डमा बेथिति : एउटै पदमा १२ वर्ष

admin

काठमाडौं,२३ फागुन : राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उप–सचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन् । बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन् ।

वर्षौंसम्म एउटै पदमा बसेर दिक्क भएका उनीहरूले मापदण्ड बनाएर बढुवा गर्न माग गरिरहेका छन् । तर बोर्डका सदस्य सचिव दुर्गा अर्यालले मन्त्रालयका कारण बढुवा गर्न नसकिएको बताउनुभएको छ ।

तर बोर्ड स्रोतले भने अध्यक्ष र सदस्य सचिवले तत्काल बढुवा गर्न नचाहेका कारण लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका सुब्बादेखि उप–सचिवसम्मका दर्जनांै कर्मचारी बढुवा हुनबाट वञ्चित भएको बताएको छ । एक उप–सचिवले भने– ‘आफूसँगै निजामती र प्रशासन सेवामा काम गरेका साथीहरू सहसचिव भइसकेका छन् । आफू भने १२ वर्षदेखि उप–सचिवमै बस्न बाध्य छु ।’

करिब ७ वर्षदेखि सदस्य सचिवको जिम्मेवारी सम्हालेका सहसचिव अर्याल हाल बढुवा हुन नसकेका उप–सचिव गोविन्द खनियासँगै २०५३ साल पुस २ गते तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को सेवामा प्रवेश गर्नुभएको हो ।

उहाँसँगैका कर्मचारी गोविन्द खनिया अहिले पनि उपसचिवमै थन्किनुभएको छ । एक उप–सचिवले नेपाल समाचारपत्रसँग गुनासो पोखे–‘हामी १२ देखि १७ वर्षसम्म एउटै पदमा काम गर्न बाध्य भएका छौं । न बढुवा हुन्छ न त काम गर्ने अवसर नै पाइन्छ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

 

प्रतिक्रिया