हेलिकप्टरले निभायो सोलुखुम्बुको डढेलो

admin

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ।

डढेलो आइतबार दिउँसो शुरु भएको थियो। डढेलो ४ दिनपछि नियन्त्रणमा आएको वडा नम्बर २ का अध्यक्ष आङफुर्वा शेर्पाले जानकारी दिए।

हेलिकप्टर, स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा ४ दिनपछि उक्त डढेलो नियन्त्रणमा लिन सफल भएको गाउँपालिकाले जनाएको छ।

स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि सिम्रिक एयरको अग्नि नियन्त्रक हेलिकप्टर प्रयोग गरिएको वडाध्यक्ष शेर्पाले बताए। गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकोप्टरले आगो नियन्त्रणका लागि ९५ हजार लिटर पानी प्रयोग गरेको थियो।

आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमबार बिहान लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल करिब १ घण्टा बन्द गर्नु परेको थियो।

आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका रुखबिरुवा नष्ट भएको भएपनि के कति क्षति भयो एकिन गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ।

आगलागीको कारणबारे अनुसन्धानसँगै क्षतिको एकिन विवरण तयार गरिरहेको वडाध्यक्ष आङफुर्वाले बताए। आगोका कारण नाक्चुङ गाउँका १३ घर उच्च जोखिममा परेका थिए। बस्ती जोगाउनका लागि सबै संयन्त्र प्रयोग गरि काम गरेको गाउँपालिका कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले जानकारी दिइन्।

प्रतिक्रिया