सुरु भयो होली, वसन्तपुरमा चीर ठड्याइयाे

admin

काठमाडौं,२६ फागुन : वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व सुरु भएको छ। आज विहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको हो।

फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ। रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ।

तीन तले छत्र र त्यसमा रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरुले ठड्याएका थिए।

वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको छ वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ। आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए। तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन्। आगोले प्रह्लादलाई छोएन।

यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ। पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा र्पुयाई दाह गरेपछि होली पर्व समाप्त हुन्छ। यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुने बताइन्छ।

प्रतिक्रिया