रात्रिकालीन व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने

admin

काठमाडौं,२७ फागुन : होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका लागि जारी ‘मापदण्ड तथा आचारसंहिता’ अपनाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

गृह प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित समितिले रात्रिकालीन मनोरञ्जनप्रधान पर्यटनमूलक व्यवसायलाई समय सान्दर्भिक रूपमा व्यवस्थित र मर्यादित बनाउन अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदनले डिस्को–क्लब, पप तथा लाइभ बार, डान्स, दोहोरी र गजललगायतलाई पर्यटनमूलक व्यवसायमा राखेको छ । सामान्य अवस्थामा चौबीसै घण्टा सञ्चालनको वातावरण मिलाउन निर्देशन भएको प्रवक्ता पोखरेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रहरी, व्यवसायी र पेसाकर्मीसँग समन्वय गरी शान्तिपूर्ण र सुरक्षित ढङ्गले सञ्चालनको वातावरण मिलाउनु पर्नेछ ।
सार्वजनिक सदाचार र नैतिकताको आधारभूत मूल्य मान्यता प्रतिकूल नहुने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने जारी आचारसंहितामा उल्लेख छ ।

प्रत्येक व्यवसाय प्रचलित कानुनबमोजिम आवश्यक दर्ता प्रक्रिया पूरा गरी सञ्चालन हुनुपर्ने छ । अश्लील नृत्य पूर्ण रूपमा निषेध गरी मौलिक र सीपमूलक नृत्यहरू प्रस्तुत गरी आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने मनोरञ्जन प्रदान गर्नुपर्ने छ ।

त्यस्तै कामदारलाई पदअनुसार पोसाक, परिचयपत्र खाना–नास्ता तथा व्यवसायस्थलदेखि घरकोठा पुग्न यातायात व्यवस्था मिलाउनुपर्ने छ ।ग्राहकलाई यातायातको असुविधा भएमा सःशुल्क सवारी व्यवस्था गर्नुपर्ने जारी आचारसंहितामा उल्लेख छ ।

प्रचलित कानुनअनुसार करार सम्झौताका आधारमा कामदारलाई नियुक्तिपत्र दिई पदअनुरूप पारिश्रमिक (तलब भत्ता सुविधा) प्रत्येक महिना मसान्तभित्र उपलब्ध गराउनुपर्ने छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया