आज काठमाडौं उपत्यकाको सुरक्षा कडाइ, बिहानैदेखि मापसे चेकिङ

admin

काठमाडौं, ३ चैत : फागु पूर्णिमालाई ध्यानमा राखी हुनसक्ने अप्रिय घटना नियन्त्रण गर्न उपत्यकामा करिब ४ हजार प्रहरी परिचालित गरिँदै छ।  काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टै योजना बनाई सुरक्षा तयारी गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ।

महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंमा करिब २ हजार ५ सय, ललितपुरमा ७ सय र भक्तपुरमा ४ सय प्रहरी परिचालित हुनेछन् । त्योबाहेक आवश्यकताको आधारमा थप प्रहरी परिचालन गर्ने तयारी पनि भएको छ । होलीमा उपत्यकामा महानगरीय अपराध महाशाखाबाट सयभन्दा बढी सादा पोशाकमा खटाइने भएको छ।

त्यसैगरी प्रहरीले सार्वजनिक गरेको होलीलक्षित सुरक्षा योजनाअन्तर्गत ४५ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रूम भेहिकल (सीआरभी) र करिब ८० वटा मोटरसाइकल गस्ती गरिने बताइएको छ।

प्रहरी टोलीसँगै मापसे चेकिङका लागि मुख्य सडकमा ट्राफिक परिचालित हुनेछन्। यसैबीच, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रेस विज्ञप्ति जारी गरी सुरक्षा सावधानी अपनाएर शान्तिपूर्वक होली खोल्न आग्रह गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले करिब २ दर्जन स्थानमा मात्रै होली खेल्न आग्रह गरेको छ ।

प्रहरीले होलीमा विशेष रमझम हुने काठमाडौंका वसन्तपुर दरबारक्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबारक्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरेको छ । त्यस्तै तीनैवटा जिल्लाका पर्यटकीय क्षेत्र, ठूला सपिङमललगायतका स्थानमा सुरक्षा कडाइ गर्ने भएको छ।

केही वर्षयता कोरोना भाइरसको महामारीका कारण होलीमा चहल पहल कम भएको थियो। कोरोना संक्रमण घटेसँगै यो वर्ष होलीमा बढी भिडभाड हुने भएकोले आवश्यकताको आधारमा प्रहरी परिचालन गर्ने योजना बनाइएको पनि प्रवक्ता राठौरले जानकारी दिए।

प्रहरीले कसैको अनुमति र इच्छाविपरीत जबरजस्ती रङ नहाल्न र लोलाले नहाल्न पनि अनुरोध गर्दै कानुनविपरीत कुनै पनि काम गरे सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने चेतावनी दिएको छ । प्रहरीले पर्यटकमाथि अभद्र व्यवहार नगर्नसमेत आग्रह गरेको छ ।

होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इन्चार्जलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीलाई बुधबार ब्रिफिङसमेत गरेका छन्।

‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्यांकन गरेर प्रविधि उपकरणहरूको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौं’, एसएसपी उमेशराज जोशीले भने– ‘बिहानैदेखि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिनेछ ।’

उच्छ्रृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीन जनाभन्दा बढी सवार गरी चलाउने, सवारीसाधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।

प्रतिक्रिया