यस्तो छ निर्वाचन आयोगले बनाएको आचारसंहिता

admin

काठमाडौं, ३ चैत : स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तोकिएको छ ।

यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधि पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको हो ।

यस्तै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो प्रावधान राखेको हो ।

उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाईएको ३/३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा राखिएको छ ।

आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नु ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ । उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाई वितरण गर्न पाइने प्रावधान छ ।

घरधनीको अनुमति नलिई कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोलमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नहुने संहितामा समेटिएको छ । निर्वाचन प्रचार प्रसारको काम पनि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ ।

राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले सवारी साधन प्रयोगमा पनि कडाई गरेको छ । सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाइने, निर्वाचन अधिकृतको अनुमति लिएर एक जना उम्मेदवारले बढीमा दुई वटासम्म चार पाङग्रे सवारी साधन र सवारी नचल्ने ठाउँमा चारवटा घोडा प्रयोग गर्न पाइने व्यवस्था गरेको छ ।

राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने हुन्छ । आचारसंहिता कार्यान्वयन गराउन आयोगले स्थानीय तहसम्म अनुगमन समिति गठन गर्ने भएको छ । केन्द्रमा भने निर्वाचन आयुक्तको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति गठन हुने छ ।

 

प्रतिक्रिया