उद्यमशीलताको प्रबर्द्धन सरकार प्रतिबद्धः मन्त्री कार्की

admin

काठमाडौँ, ९ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमशीलताको प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बुधबार काठमार्डौंमा ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनको उद्घाटन गर्दै मुलुकको आर्थिक बिकासमा उद्यमशीलताको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै यसको प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

मन्त्री कार्कीले उद्यमशीलताको विकास, स्टार्टअप व्यवसायलाई नेपाल सरकारले प्रोत्साहित गर्ने नीति लिएको बताउनुभयो । सरकारले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन, वैदेशिक लगानी भित्रयाउन लगानीमैत्री नीति लिएको र सेवा प्रवाहलाई सरलीकृत गर्दै प्रक्रियागत झन्झटलाई हटाइएको उहाँले बताउनुभयो ।

सरकारले स्थापना गरेको एकल विन्दु सेवाबाट उद्योगी व्यवसायीलाई व्यवसायिक गतिविधि बढाउन सहयोग मिलेको उहाँको भनाइ थियो । उहाँले व्यवसाय प्रवद्र्धन, उद्यमीको क्षमता अभिवृद्धि र वित्तीय सहजीकरण गर्न सरकारले सोसम्बन्धी नीति परिमार्जन गरेको बताउनुभयो ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत क्वात्राले अन्वेषण र उद्यमशीलता भारत सरकारको प्राथमिकतामा रहेको जानकारी दिँदै उहाँले भारत र नेपालका युवा उद्यमीको क्षमता अभिवृद्धि गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

क्लक वि विजनेस इनोभेसन्स् र काठमाडौँस्थित भारतीय दूतावासको सहकार्यमा ‘कनेक्ट इन’को तेस्रो संस्करणका रुपमा सम्मेलनको आयोजना गरिएको हो । ‘कनेक्ट इन’को पहिलो संस्करण सन् २०१८ र दोस्रो संस्करण सन् २०१९ मा भएको थियो ।

प्रतिक्रिया