जनताको मन जिते निर्वाचन जित्छौँ : वरिष्ठ नेता पौडेल

admin

दमौली, ९ चैत : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज आयोजना गरेको अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले जनताको मन जित्न सके निर्वाचन जित्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कांग्रेस हरेक जनताको घरघरमा पुग्नुपर्ने बताउँदै जनतालाई कांग्रेसका बारेमा बुझाउनुपर्ने पौडेलको भनाइ थियो ।

“निर्वाचन नजिकिँदै छ, अब गाउँगाउँमा पुगेर कार्यक्रम गर्नुप¥यो, बजार केन्द्रित हुनुभएन”, उहाँले भन्नुभयो, “कार्यकर्तालाई मात्र होइन जनतालाई कुरा बुझाउन सक्नुपर्छ ।” पौडेलले जनताको मन जित्न अहिलेका मुद्दाहरूमा बहस गर्नुपर्ने बताउनुभयो । जनतालाई कांग्रेसका पक्षमा आकर्षित गर्नुपर्नेमा पौडेलको जोड दिनुभयो ।

वरिष्ठ नेता पौडेलले अहिलेको स्थितिमा गठबन्धन आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपालमा कांग्रेस ३० प्रतिशत र कम्युनिष्ट ७० प्रतिशत रहेको उल्लेख गर्दै कांग्रेसले जित्नका लागि गठबन्धन आवश्यक रहेको उहाँको भनाइ थियो ।

“एक्लै जित्न सकिन्छ भने त किन चाहियो र गठबन्धन ? कांग्रेसको पक्षमा ५१ प्रतिशत मत छैन त्यही भएर गठबन्धन आवश्यक छ”, पौडेलले भन्नुभयो । कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिष्टहरू मिल्न सक्ने खतरा रहेको उहाँको भनाइ थियो । विदेशी शक्ति कम्युनिष्ट मिलाउन लागिपरेको पौडेलले बताउनुभयो ।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउँदै नेताहरूबीचको कमजोरी हटाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नीतिका कारण देश अगाडि बढेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह निर्वाचनका लागि खटिएका प्रतिनिधि मधु आचार्यले वैशाख ३० गते निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गर्दै तयारी गर्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकिएकाले अब पार्टीभित्र एकता गरेर प्रतिपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ थियो । देशलाई अप्ठ्यारो पर्दा निकास दिने पार्टी कांग्रेस रहेको दाबी गर्दै उहाँले हरेक वडामा घोषणापत्र बनाएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला सभापति जितप्रकाश आलेले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई भुलेर पार्टीको अनुशासन र दायित्वलाई सम्झिएर चुनावमा होमिनुपर्ने बताउनुभयो । निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले पार्टीको विधानविपरीत नजान आग्रह गर्नुभयो ।

कार्यक्रममा बन्दीपुर, व्यास, देवघाट, आँबुखैरेनी, भानुका सभापतिहरूले घर घर जाऔँ : कांग्रेस जिताऔँ अभियानअन्तर्गत भएका कार्यका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया