मागेको संख्याभन्दा झन्डै तेब्बरले भरे म्यादी प्रहरीमा फारम

admin

काठमाडौं, ११ चैत्र: स्थानीय निर्वाचनका लागि सुरक्षामा खटिने म्यादी प्रहरीको दरखास्त फारम लिने समय सकिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार चैत ६ देखि ११ गतेसम्म दरखास्त फारम लिँदा देशभर २ लाख ८० हजार ४९५ जनाले फारम भरेका छन्।

प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीका लागि दरखास्त फारम खुलाएको थियो। निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय निर्वाचनको तयारी गरेसँगै म्यादी प्रहरी भर्नाको फारम खुलाइएको थियो।

फारम भरेकाबाट १४ गतेदेखि छनोट सूची प्रकाशनको कार्य सुरू हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए। अन्तिम नामावली २६ गतेसम्म प्रकाशन भएर २७ गते नियुक्तिको काम थालिने र त्यही दिनबाट तालिम सुरू हुने केसीले बताए।

म्यादी प्रहरीका लागि हरेक जिल्ला प्रहरी कार्यालयहरूले फारम लिएका छन्। जिल्लाबाट अन्तिम नामावली प्रकाशन भई नियुक्ति भएपछि सम्बन्धित ठाउँहरूका प्रहरी युनिटहरूमा म्यादी प्रहरीलाई तालिम दिन थालिन्छ। तालिम एक सातादेखि १० दिनसम्म हुने प्रधान कार्यालयले जनाएको छ।

म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउने व्यवस्था थियो। म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिकलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ।

त्यसबाहेक मापदण्डभित्र पर्नेहरूलाई समावेश गरिन्छ। म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुँदैछन्। ४० दिन खटिँदै तलब-भत्ता-राशनवापत एक जनाले ४३ हजार रुपैयाँसम्म बुझ्छन्। त्यसपछि हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि छुट्टै आवेदन मागिने प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया