कांग्रेसले आज चुनावी तालमेलबारे निर्णय गर्ने

admin

काठमाडौँ, १४ चैत : सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

गएको शुक्रबारदेखि जारी बैठक आज सकाउने तयारी छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने सम्भावना छ । तालमेलको पक्ष/विपक्षमा निरन्तर विभिन्न धारणा आइरहे पनि पार्टीले आवश्कताको सिद्धान्तानुसार तालमेलको पक्षमा निर्णय लिने उनको भनाइ छ ।

“साथीहरूले केही न केही गठबन्धनको आवश्यकता छ भनेर भन्नुभएको छ । पार्टीलाई बढीभन्दा बढी सिट जिताएर सफल बनाउन कतिपय ठाउँमा गठबन्धन गर्न जरुरी छ । भोलिसम्म साथीहरू बोलेपछि मोडालिटीबारे हामी निर्णयमा पुग्छौँ,” आइतबारको बैठकपछि प्रवक्ता महतले भनेका थिए ।

यस्तै, सबैभन्दा धेरै चासो भरतपुर महानगरपालिकामा भइरहेको र त्यसका विषयमा पनि निचोडमा पुग्ने एक नेताले बताएका छन् । बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि पार्टीले गरेको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानको समीक्षा जारी छ ।

स्थलगत भ्रमणबाट फर्किएका सभापति शेरबहादुर देउवानिकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको विपक्षमा मत राखेका छन् । यद्यपि, उनी तालमेल गर्ने पक्षमा छन् । रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् । नेता शेखर कोइराला समूह भने तालमेलको विपक्षमा छ ।

प्रतिक्रिया