विवादपछि विवेकशील साझा पार्टी कार्यालय अनिश्चितकाललाई बन्द

admin

काठमाडौँ, १५ चैत : विवेकशील साझा पार्टीको दुई पक्षबीच विवाद बढ्दै गएपछि पार्टीको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

मंगलबार पार्टी कार्यालयमा दुईपक्षको विवाद उत्कर्षमा पुगेपछि पार्टी कार्र्यालय बन्द गरिएको हो । पार्टी कार्यालयमा संगठन विभाग प्रमुख निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्न लागेको अवस्थामा अर्को पक्षले अवरोध गरेको थियो ।

यसअघि सोमबार असन्तुष्ट पक्षले अध्यक्ष रविन्द्र मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन विवादपछि भाडिएको थियो ।

विवेकशीलका असन्तुष्ट नेता सिलवालले पार्टीभित्र भएका अन्यायका बिषय राख्न खोज्दा रोक्न खोजिएको बताउनुभयो । उहाले पार्टी भित्र अध्यक्ष मिश्र अल्पमतमा परेको र हस्ताक्षर सहित आफुहरुले निर्वाचन आयोगमा जानकारी गराएको दावी गर्नुभयो । उहाले पार्टीलाई कुनैपनि हालतमा राप्रपाकरण हुन नदिने स्पष्ट पार्नुभयो ।

त्यस्तै संस्थापन पक्षका नेता सरदराज पाठकले पार्टीको शुभकामना आदान प्रदान कार्यक्रमलाई बिथोल्न अर्को पक्षले पत्रकार स्म्मेलन गर्न खोजेपछि विवाद भएको बताउनुभयो ।

पार्टीको बिधि बिधान नमान्ने पक्षले तनाव सिर्जना गर्न खोजेको आरोप उहाले लगाउनुभयो । आफु अनुकुलको निर्णय गराउन नसक्दा अर्को पक्षले अनावश्यक बिकृति उत्पन्न गर्न खोजेको धारणा राख्नुभयो ।

विवाद पछि पार्टीले सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरेको जनाएको छ । दुईपक्षको विवादलाई मध्यनजर गर्दै पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

 

प्रतिक्रिया