सुरक्षण मुद्रणमा आत्मनिर्भरताको उद्देश्य पूरा हुँदैछ : मन्त्री कार्की

admin

काभ्रेपलाञ्चोक, १५ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुँदै गरेको बताउनुभएको छ ।

उहाँले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र परिसरमा निर्माण हुने बहुउद्देश्यीय भवनको आज शिलान्यास गर्दै केन्द्रमा योजनाअनुसारका भौतिक पूर्वाधार निर्माण तथा आवश्यक उपकरण जडानपछि मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुने बताउनुभएको हो ।

“स्वदेशमै सुरक्षण मुद्रण कार्य स्थापना भई कार्य प्रारम्भ गर्नु प्रशंसनीय विषय हो, यसबाट उत्पादन थालेपछि मुलुकलाई सुरक्षित मुद्रणको क्षेत्रमा आत्मनिर्भरताको उद्देश्य पूरा हुनेछ”, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भन्नुभयो । उहाँले भौतिक निर्माण, सुरक्षित मुद्रण उत्पादन तथा भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढाउन सहयोग, समन्वय र सहजीकरण गर्न मन्त्रालय र सुरक्षण मुद्रण विकास समितिका पदाधिकारीलाई निर्देशनसमेत दिनुभयो ।

मन्त्री कार्कीले सुरक्षण मुद्रण केन्द्रलाई सरकारले उच्च प्राथमिकता दिई नीति तथा कार्यक्रममा बजेट समावेश गर्दै आएको बताउँदै भौतिक पूर्वाधार तथा मानव–संसाधन विकास गरी प्रभावकारी तथा व्यवस्थितरूपमा सुरक्षण मुद्रणको कार्यलाई यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाल पासपोर्ट, बैंक–नोट, अन्तःशुल्क स्टिकरजस्ता सुरक्षण मुद्रण कार्यका लागि विदेशी संस्थामा निर्भर रहनुपर्ने अवस्था आएको छ, यहाँबाट सुरक्षण मुद्रणको कार्य सुरु भएपछि राष्ट्रिय महत्वका गोप्य सूचनाको डाटाबेस स्वदेशमै सुरक्षित भई विदेशमा भण्डारण गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ र दुरुपयोगको सम्भावना हुने छैन ।”

मन्त्री कार्कीले छापाखाना स्थापना भएपश्चात् राष्ट्रिय उत्पादकत्व वृद्धि भई रोजगारी सिर्जना तथा विदेशबाट आयात भइरहेको सुरक्षण मुद्रण सामग्रीको आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने बताउनुभयो । “यसबाट समग्रमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तथा भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन तोकिएको समयमा वा अगावै हुनेछ भन्ने विश्वास लिएको छु, यसका लागि मन्त्रालयबाट सहयोग र समन्वयका लागि हामी प्रतिबद्ध छौँ”, उहाँले थप्नुभयो ।

मन्त्री कार्कीले सुरक्षण मुद्रण केन्द्र काभ्रेपलाञ्चोकको सम्पत्ति भएकाले यहाँकै नेताले संरक्षण गर्न आग्रह गर्नुपर्ने बताउनुभयो ।

उहाँले फरक प्रसङ्गमा वर्तमान सरकारले मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउन चाहेको उल्लेख गर्दै प्रकृतिले दिएको साधन स्रोत प्रयोग गरी नयाँ पुस्तालाई सभ्य, सुन्दर, समृद्ध र सुखी नेपाली भएको मुलुकका रूपमा विकसित गराउनु दायित्व–कर्तव्य रहेको बताउनुभयो । “विकास कुनै दल र जातजातिको हुन्न, विकास पाउने हक सबैलाई छ, यसलाई तीव्रता दिने दायित्व सरकारको हो, वर्तमान सरकारले पूरा गर्नेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले केन्द्रलाई बजेटको सुनिश्चतता भएकोले समयमै सक्ने गरी आयोजना अघि बढाइएको बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले शिलान्यास भएको बहुउद्देश्यीय भवन भूकम्पप्रतिरोधी, आगोबाट असर नगर्ने गुणस्तरको भएको तथा भवनमा कागज, मसी र मेसिनरी औजार लामो समयसम्म भण्डार गर्न सकिने बताउनुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामा र पनौती नगरप्रमुख भीम न्यौपानेले जिल्लाको गौरवको रूपमा रहेको केन्द्र सञ्चालनार्थ आ–आफ्नो क्षेत्रबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।रासस

प्रतिक्रिया