निजगढलाई एरो सिटीका रूपमा विकास गर्छौंः मन्त्री झाँक्री

admin

काठमाडाैं, २२ चैत : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाराको निजगढ विमानस्थल क्षेत्रलाई एरो सिटी (हवाई सहर)का रूपमा विकास गरिने बताएकी छन् ।

काठमाडौं उपत्यका बाहिरको ट्रान्जिट विमानस्थलका रूपमा निजगढ विमानस्थल क्षेत्र रहेको बताउँदै उनले निजगढलाई एरो सिटीका रूपमा विकास गरिने योजनाअघि सारिएको बताइन् ।

मंगलबार मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रममाथि छलफल गर्दै मन्त्री झाँक्रीले निजगढलाई एरो सिटीका रूपमा विकास गर्न तत्काल काम थालिने बताइन् । उनले एरो सिटी निर्माणका लागि तत्काल सम्भाव्यता अध्ययन गरेर काम सुरु गर्न समेत मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

‘काठमाडौं उपत्यकामा धेरै भिडभाड बढ्यो । यसको विकल्पका रूपमा निजगढलाई एरो सिटीका रूपमा विकास गर्नुपर्छ । यसका लागि आवश्यक काम तत्काल सुरु गर्नुस्,’ उनले भनिन् । निजगढ विमानस्थलमा तराई मधेश द्रुतमार्ग फास्ट ट्र्याक, पूर्व पश्चिम रेलमार्गसमेत जोडिने भएकाले यसले काठमाडौं उपत्यकामा बढिरहेको सहरीकरणको चाप पनि घटाउने बताइन् ।

साना-साना खुद्रे योजनामा बजेट छुट्याउने नहुने बताउँदै सभा हल र भ्यूटावरजस्ता कार्यक्रम यस पटकको नीति तथा कार्यक्रममा नसमेटिने उनले बताइन् । यस वर्षको नीति तथा कार्यक्रममा कार्यान्वयन हुन नसक्ने योजना राखेर सपना बाँड्न नहुनेमा जोड दिँदै मन्त्री झाँक्रीले योजना कार्यान्वयनको वास्तविक अवस्था हेरेर मात्र नीति तथा कार्यक्रम ल्याइने बताइन् ।

नेपालको पश्चिमी क्षेत्र भूकम्पको जोखिममा रहेकाले ३ प्रदेशमा २५ सय निजी घरहरूमा रेट्रो फिटिङ गर्ने कार्य पाइलट प्रोजेक्टका रूपमा अघि बढाइने बताउँदै ईशान नयाँ नगर योजना पनि प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटिने बताइन् ।

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले यस पटकको बजेट तथा नीति तथा कार्यक्रमलाई विगतमा भएका त्रुटिलाई सच्याउँदै अनावश्यक कार्यक्रम थप्न नहुने बताए । उनले मन्त्रालयले सञ्चालन गरिरहेका राम्रा नीति तथा कार्यक्रमलाई अघि बढाए पनि भ्यु टावरजस्ता अनावश्यक कार्यक्रममा बजेट थप्न नहुनेमा जोड दिए ।

सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । यद्यपि यी मन्त्रालयलाई हाल ७४ अर्बको बजेट आवश्यक रहेको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी दिए ।

प्रतिक्रिया