जात्रालगायतका संस्कृति हाम्रा पहिचान हुन्– पूर्वअध्यक्ष रेग्मी

admin

काठमाडौं, २३ चैत : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालका चाडपर्व र जात्रालगायतका संस्कृति हाम्रा पहिचान भएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति(रासस)का फोटो पत्रकार रत्ककृष्ण श्रेष्ठको भक्तपुरको थिमिमा हुने ऐतिहासिक बिस्काः जात्रासम्बन्धी भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा प्रदर्शनीमा रहेको तीनदिने एकल फोटो प्रदर्शनीको अवलोकनपछि उहाँले आफनो सभ्यता र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले गरिएको फोटो प्रदर्शनी नयाँ आयाम भएको उल्लेख गर्नुभयो ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “नेपाल र नेपालीको सभ्यता, संस्कृति र मौलिक पहिचान बोकेका जात्रालगायतका आफ्ना संस्कृति र परम्परालाई पुरानो पुस्ताबाट युवा हँुदै नयाँ पुस्तामा हस्तान्तरण गरी सम्मुनत बनाउनुपर्छ ।”

भूकम्प र कोरोनाबाट अप्ठ्यारो खडा गरेको परिस्थितिमा समेत जात्रालाई निरन्तरता प्रदान गरिएका तस्वीर स्वयंबाट खुलेको बताउँदै उहाँले जात्रा र महोत्सव धार्मिक अवस्थासँग जोडिएकाले विदेशीले समेत निकै चासो र उत्साहपूर्वक लिने गरेको उल्लेख गर्नुभयो ।

पत्रकार श्रेष्ठले १० वर्षयता खिच्नुभएका ठिमीमा मनाइने बालकुमारी, दक्षिण बाराही, विष्णुवीर, सिद्धिकाली गण, नगदेशको सिद्धि गणेश तथा बोडेको महालक्ष्मी गण र जिब्रो छेड्ने जात्राका एक सय तस्वीर प्रदर्शनीमा राखिएको छ ।

विद्यालयका छात्रछात्रा, समाजका विभिन्न क्षेत्रका व्यक्ति ऐतिहासिक जात्राका तस्वीर हेर्न प्रदर्शनीमा पुग्नुभएको थियो ।

प्रतिक्रिया