ग्वार्काे ‘फ्लाइओभर’ डिजाइन अघि बढ्यो

admin

काठमाडौं, २५ चैत : चोकमा फ्लाई ओभर निर्माणका लागि सर्वेक्षण सकिएर त्यसको ढाँचा (डिजाइन) तयार पार्न थालिएको छ। निर्माण कम्पनीले अबको दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण सुरु गर्ने भएको छ।

सरकार आफैँले इपिसि (इञ्जिनीयरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन)सँग सम्झौता गरी पहिलो ‘फ्लाई ओभर’ निर्माण गर्न लागेको हो। यसमा ‘डिजाइन एण्ड बिल्ड’ सम्झौता जस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गर्ने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर सौरभ बज्राचार्यले बताए।

‘चुनौती बहन गर्ने विषयमा भने इपिसिमा ‘डिजाइन एण्ड विल्ड’भन्दा फरक छ। यसमा निर्माण व्यवसायीको बढी जिम्मेवारी हुन्छ,’ उनले भने, ‘डिजाइन एण्ड विल्डका केही कुरा सम्बन्धित आयोजनाले हेर्छ भने इपिसिका सम्पूर्ण काम र जिम्मेवारी कम्पनीको हुन्छ।’

इपीसीअनुसार निर्माण गर्दा निर्माण कम्पनीले डिजाइन परिवर्तन गर्न पाउँछ। कार्यालयले यस्तो हुनुपर्छ भनेर ‘कन्सेप्ट’ दिएमा आवश्यकता अनुसार केही परिवर्तन गरेर डिजाइन तयार हुने प्रमुख बज्राचार्यले बताउनुभयो। उहाँले भन्नुभयो, ‘त्यसको वरिपरि रहेर निर्माण गर्नुपर्छ तर त्योभन्दा फरक गर्दा स्वीकृति लिनुपर्छ।’

अहिले ‘फ्लाई ओभर’ का लागि सुरुमा ट्राफिक व्यवस्थापनमा केही परिवर्तन गर्नुपर्ने देखिएको छ। संरचनमा परिवर्तन नभए पनि ट्राफिक व्यवस्थापनमा केही परिवर्तन हुनसक्ने देखिएको प्रमुख बज्राचार्यले जानकारी दिनुभयो। निर्माणको समयमा र निर्माण भएर ‘फ्लाई ओभर’ सञ्चालनमा आएपछि कता कताबाट कसरी सवारीसाधन सञ्चालन र व्यवस्थापन गर्ने भन्नेमा केही परिवर्तन हुने देखिएको छ।

निर्माणको अवधिमा मुख्य लेनमा सवारीसाधन चल्न नपाउँदा सडक व्यवस्थापनका लागि सर्भिस लेन मात्रै पर्याप्त नहुने देखिएको छ। सर्भिस लेनले धान्न नसक्दा त्योभन्दा बाहिरको लेन प्रयोगमा ल्याउनुपर्ने हुनसक्छ। चक्रपथको सो खण्डमा कतै सर्भिस लेन बनिसकेको छ भने कतै सम्पन्न हुन बाँकी छ।

त्यो लेन सम्पन्न गरेर प्रयोगमा ल्याउनुपर्ने उहाँले बताउनुभयो। पूर्वाधार निर्माणका क्रममा सबैभन्दा ठूलो समस्याका रुपमा निर्माणस्थल खाली गर्नुपर्ने भए पनि अहिले सो स्थानमा निर्माणस्थलको समस्या छैन। प्रमुख बज्राचार्यले भन्नुभयो, ‘व्यवसायीले ढिला नगरेमा समयमा निर्माण सम्पन्न गर्न चुनौती छैन।’

फागुन १९ मा डिजाइन सुरु भएकामा आगामी असार १६ सम्ममा सम्पन्न गर्नुपर्नेछ। निर्माण थालिएपछि २० महिनामा काम सक्नुपर्छ। सरकार आफैँले निर्माण गर्न लागेको पहिलो ‘फ्लाई ओभर’ सरकार र निर्माण व्यवसायी दुवैका लागि नयाँ हो। अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको होे। नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत अन्य ठूला र जटिल खालका पुल बनाएर आफूलाई प्रमाणित गरिसकेका छन्।

संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्नेमा ध्यान दिइने भएको छ। निर्माण कम्पनीले निर्माणसँगै ट्राफिक व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेछ। जगको काम गर्दा मुख्य सडक अवरुद्ध हुने भएकाले त्यसको विकल्प आवश्यक देखिएको हो। माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रै बनाएर राख्न खोजिएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाई ओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ। बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाई ओभर पुगिनेछ

। त्यतातर्फ २८० मिटर लामो र्‍याम हुने र सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको र्‍याम हुने बताइएको छ। सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ। मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन्।

यस वर्ष ग्वार्कोमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकामा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाई ओभर’ निर्माण गरिने योजना छ। जापान सरकारको ऋण सहयोगमा नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत पनि एउटा ‘फ्लाई ओभर’ निर्माण भइरहेको छ। सो आयोजनामा एउटा ‘ओभर पास’ निर्माण भइसकेको छ भने तीन ‘अण्डर पास’ निर्माण गर्नुपर्नेमा हालसम्म दुई पूरा भइसकेको छ।

चीन सरकारले झन्डै तीन वर्ष पहिले निर्माण गरेको चक्रपथका चोकमा ‘फ्लाई ओभर’ निर्माणको योजना बनाइएको हो। सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशे पुल निर्माण गरेको थियो। ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशे पुल भत्काउन नपर्ने गरी ‘फ्लाई ओभर’ निर्माण गरिने विभागले बताउँदै आएको छ।

सरकारले चालु आर्थिक वर्षमा उपत्यकामा फ्लाई ओभर निर्माणका लागि बजेट छुट्याएको छ। उपत्यकाका अरू विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाई ओभर’ बन्न लागेकाले विभागले यी स्थान छानेको हो।

सङ्घीय राजधानीमा अहिलेसम्म एउटा पनि ‘फ्लाई ओभर’ नभएकामा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेका हुन्। सरकारको लगानीमा यी तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण गर्ने योजना बनाइरहँदा चीन सरकारको सहयोगमा चक्रपथको कोटेश्वर र बानेश्वरमा पनि ‘फ्लाई ओभर’ निर्माण गर्न छलफल भइरहेको छ। यी सबै ‘फ्लाई ओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा ‘फ्लाई ओभर’ र ‘अन्डरपास’ को सङ्ख्या बढ्ने देखिएको छ।

चीन सरकारले पहिलो खण्डको सडक विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म ‘अन्डरपास’ निर्माण गरेको थियो। यो नै नेपालमा निर्माण भएको पहिलो ‘अन्डरपास’ हो।

उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकचोकमा सवारी साधन जाम हुन थालेकाले फ्लाई ओभर र सुरुङको विकल्प खोज्न थालिएको हो। यो ‘फ्लाई ओभर’ निर्माणका लागि रु १७ करोड छ लाखमा सम्झौता गरिएकामा तीन निर्माण कम्पनी आरसि, समानान्तर र रेलिग्रे जेभी छनौटमा परेका थिए। ‘फ्लाई ओभर’ को निर्माण बिसं. २०८० सम्ममा सकिएर सञ्चालनमा आउनेछ।

प्रतिक्रिया