३ घण्टापछि काठमाडौंको क्लासिक पार्टी प्यालेसको आगलागी नियन्त्रणमा

admin

काठमाडाैं, २७ चैत : काठमाडौंको खुसिबु नयाँबजारस्थित पार्टी प्यालेसमा लागेको आगो झन्डै तीन घण्टापछि नियन्त्रणमा आएको छ।

आइतबार साँझ ५ बजेतिर पार्टी प्यालेसको भण्डार कोठा र भान्साकोठामा अचानक लागेको आगो ८ बजेतिर नियन्त्रणमा आएको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौं महानगरपालिका- १७ खुसिबु नयाँबजारस्थित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसमा आगलागी भएको हो। विवाहको लागि खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रहरी उपरीक्षक मैनालीले बताए।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट प्रहरी नायब उपरीक्षकसहित ३० जना, नगर प्रहरी कार्यालय, भृकुटीमण्डपबाट प्रहरी निरीक्षकसहित १० जना समेत गरी ४० जना प्रहरी टोली र नारायणहिटी संग्रहालयस्थित पुरानो गोरख गणबाट उपसेनानीको कमाण्डमा ३५ जनाको नेपाली सेनाको टोलीले खटिएर आगो नियन्त्रणमा लिएको उनले बताए ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार करिब ४५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। उनले मानवीय क्षति नभएको बताए। घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया