यसपटक मतदाताको छनोटमा परिवर्तन आउँछ : राप्रपा प्रवक्ता लावती

पिएनपि खबर

काठमाडौं, २९ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीले स्थानीय तहको निर्वाचनमा मतदाताको छनोटमा परिवर्तन आउने बताएका छन् । जनताले यसपटक फरक दल र फरक प्रतिनिधिलाई चुन्ने उनको दाबी छ ।

‘नेपाली जनता विकल्प चाहन्छन् । त्यसकारण जनताले विगतभन्दा फरक रूपमा मतदान गर्नेछन् । जनताले फरक पार्टी र फरक उम्मेदवारलाई मत दिनेछन्, जनताको प्राथमिकता र चाहनामा परिवर्तन आउने छ,’ प्रवक्ता लावतीले ताप्लेजुङको पाथिभरा–याङ्वरक गाउँपालिकामा मंगलबार आयोजित चुनावी कार्यक्रममा भने ।

उनले भारतको आवधिक निर्वाचनहरूमा कांग्रेस आईको घट्दो लोकप्रियता र भाजपाको उदय चित्रण गर्दै लावतीले आगामी निर्वाचनमा मतदाताको प्राथमिकता परिवर्तन हुने जिकीर गरे ।

‘सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको अवस्था विद्यमान छ । यस्तो कहालीलाग्दो अवस्थालाई चिरेर राप्रपाले भ्रष्टाचारमुक्त प्रशासन कायम गर्नेछ’, लावतीले भने, ‘राप्रपाका कुनै पनि प्रतिनिधिले भ्रष्टाचार गर्ने छैनन्, गर्न दिने छैनौं । समाजको यो महारोग भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्नेछ ।’

राप्रपाले जितेका स्थानमा १२ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराइने पनि बताए ।

प्रतिक्रिया