नौ दिन लामो भक्तपुरको बिस्का जात्रा आज सकिँदै

admin

भक्तपुर, ५ वैशाख : नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार सकिँदै छ । जात्राको अन्तिम दिन आज साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्ना समापन हुनेछ ।

भैरबनाथको रथलाई डोरीको सहायताले तानिन्छ । परम्पराअनुसार रथलाई दुई साइडबाट तानिन्छ । यसअघि २७ चैतमा यही रथ तानेर जात्रा सुरु भएको थियो ।

जात्राको अन्तिम दिनलाई द्यो थाहा बिज्याइगु अर्थात् देवतामाथि सवारी हुने भनिन्छ । यस दिन भैरबनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ । भक्तपुरको टौमढी क्षेत्रलाई नगरको मध्य भाग मानिन्छ ।

रथ तानिसकेपछि पाँंचतल्ले मन्दिर अगाडि पुयाएर जात्रा सकिन्छ । जात्रा सकेपछि भोलिपल्टदेखि रथलाई बगारेर काठ पाँचतल्ले मन्दिरको पछाडि सुरक्षित राखिन्छ । अर्काे वर्ष यही काठ प्रयोग गरी रथ बनाइन्छ ।

प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि र चार दिन पछाडि अर्थात् ५ वैशाखसम्म जात्रा मनाइन्छ । भैरबनाथको रथ काठैकाठबाट प्यागोडा शैलीमा बनाइएको तीन तल्ले हुन्छ । यसमा चार वटा काठकै पांग्रा हुन्छन् ।

रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर सयाैं युवाले रथ तान्ने गर्छन् । जात्राको पहिलो दिनलाई नेपाल भाषामा द्यो क्वह बिज्याइज्यू अर्थात देवता (रथ)तल सवारी हुने भनिन्छ ।

जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । यसरी नै जात्राको अन्तिम दिन द्यो थाहा विज्याइगु अर्थात् देवता माथि सवारी हुने भनिन्छ । त्यसकारण त्यो दिन माथितिर ६ वटा डोरी राखिन्छ ।

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर (तीन सय वर्षभन्दा अघि) राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए ।

तर, उपत्यकाको राजनैतिक विखण्डनलगायत १८२६ सालमा मल्लकालिन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनैतिक-प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा सीमित भयाे । अहिले फेरि यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिस आउन थालेका छन् ।

भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु हाे । साथै, मध्यपुर थिमीमा मनाइने जिब्राे छेड्ने जात्रा पनि उतिकै प्रख्यात छ ।

यसअघि जात्राको अन्तिम दिन दिउँंसो हात नभएको ल्योसिंद्य (लिंगो) ढालिएको थियो । प्रत्येक वर्ष पोटरी स्क्वायरमा जात्राको पहिलो दिन २७ चैत विहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन ५ वैशाख दिउँंसो ढाल्ने परम्परा छ ।

 

प्रतिक्रिया