नागार्जुन इन्द्रायणी मन्दिरबाट चोरिएका मूर्तिसहित दुईजना पक्राउ

admin

काठमाडौं, ६ वैशाख : नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरूसहित दुईजना जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका–४ घर भएका ५६ वर्षीय कान्छा मगर रहेका छन् ।

नागार्जुन नगरपालिका–६ फस्कुस्थित सडकमा एकजना पुरुष व्यक्तिले बोराभित्र चोरीका सामानहरू बोकी हिँडिरहेको सूचना प्रहरीलाई दिएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उमेश खड्कालाई चोरीका मूर्ति लगायतका सामानहरू लुकाई छिपाई लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा उक्त मूर्तिहरू इन्द्रायणी मन्दिरबाट कान्छा मगर समेतको मिलेमतोमा चोरी गरेको खुल्न आएपछि कान्छा मगरलाई समेत काठमाडौं महानगरपालिका–१५ सितापाइलाबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंङ्ख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिङ्ग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया