भूमिकास्थानमा प्रतिष्ठाको लडाई, कसले जित्ला मेयर ?

admin

अर्घाखाँची, २७ वैशाख : स्थानीय निर्वाचनको सरगर्मीले यतिवेला भूमिकास्थान नगरपालिकाको माहौल तताएको छ । सत्ता गठबन्धन र एमालेको बीचमा मुख्य प्रतिस्पर्धा हुने यो पालिकामा दुवै पक्ष नै चुनावी प्रचार प्रसारमा सक्रियताका साथ लागेका छन् ।

गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य समेत रहेका नेता झविलाल थापा चुनावी मैदानमा रहँदा नेकपा एमालेले पूर्व नगरप्रमुख रेशम थापालाई प्रतिष्प्रधामा उतारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अर्जुन खनालले नगर प्रमुखमा उम्मेदवारी दिएका भए पनि मुख्य प्रतिस्पर्धा थापा बन्धुहरूकै बीचमा हुने देखिएको छ ।

के छ गत निर्वाचनको अवस्था ?
२०७४ को स्थानीय तहको निर्वाचनमा यो पालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल थियो । तालमेलमा नगरप्रमुखको टिकट पाएका रेशम थापाले ५ हजार ३ सय २० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी जनमोर्चाका कविराम खनालले ४ हजार ५ सय ४२ मत प्राप्त गरेका थिए । तेस्रो भएका एमाले नेता पीताम्बर भुसालले ४ हजार २ सय ५० मत प्राप्त गर्दा नयाँ शक्तिका प्रेम थापाले ४६ र राप्रपाका धन बहादुर रायमाझीले २२ मत प्राप्त गरेका थिए ।

तर अहिले परिस्थिति बदलिएको छ । उबेला गठबन्धन गरेर निर्वाचन जितेका काँग्रेस माओवादीले त्यसवेलाको निकटतम प्रतिद्वन्द्वी जनमोर्चालाई साथ दिएका छन् भने तेस्रो बनेको नेकपा एमाले अहिले पनि एक्लै मैदानमा छ । बरु उसवेला एमालेका तर्फबाट मेयरमा लडेका पीताम्बर भुसाल र नयाँ शक्तिको तर्फबाट निर्वाचन लडेका प्रेम बन्जाडे एकीकृत समाजवादीमा हुनुहुन्छ । एकीकृत समाजवादी समेत अहिले एमाले इतरको गठबन्धनमा छ ।

के निस्केला निर्वाचन परिणाम ?

विगतको निर्वाचनको तेस्रो शक्तिका विरुद्ध सबै एक भएको भूमिकास्थानमा विगतको नतिजा हेर्ने हो भने गठबन्धनको सहज जित देखिन्छ । विगतको निर्वाचनमा कुल १४ हजार ४ सय ५० सय मत मेयरको लागि खसेकोमा एमालेले ४ हजार २ सय ५० मत प्राप्त गरेको थियो । जुन नगर प्रमुखलाई खसेको कुल मतको करिब ३० प्रतिशत हुन आउँछ ।

२०७४ सालको निर्वाचनको मितिदेखि हालसम्म भएको उतारचढावले अहिलेको मतपरिणामलाई कति प्रभाव पार्छ हेर्नै बाँकी छ तर ७० प्रतिशत मत अर्कोतिर अनि ३० प्रतिशत मत आफूतिर भएको अवस्थामा एमालेलाई भूमिकास्थानमा यो पटक जित हासिल गर्नु फलामको च्यूरा चपाउनु सरह हुने देखिन्छ । यद्यपि निर्वाचनको मतगणना अघि मतपरिणामको आकलन गर्न सक्ने अवस्था छैन ।

राजनीतिक जोडघटाउ कस्तो ?

२०७४ सालमा रेशम थापाले क्षेत्रीयताको कारण एमालेको करिब ७०० भोट काटेको अनुमान गरिन्छ । यसर्थ भूमिकास्थानमा एमालेको मत करिब पाँच हजार हो ।

यसबीचमा तत्कालीन निर्वाचनमा एमालेका तर्फबाट मेयरका प्रत्याशी पीताम्बर भुसाल लगायतको समूह नेकपा एकीकृत समाजवादीमा छ । जुन समूहसँग करिब ५०० भोट रहेको अनुमान गरिन्छ । त्यस्तै माओवादीबाट करिब ७०० को हाराहारीमा नेता तथा कार्यकर्ता एमालेमा गएको अनुमान गरिन्छ । जसका कारण यो पटक एमालेको मत ५ हजार दुई समयदेखि ५ हजार ५ सय हुनसक्छ । यो पाँच वर्षको बीचमा थपिएका मतदाता मध्ये १ हजार ५ सय जनाले एमाले रोजेको अवस्थामा यो निर्वाचनमा एमालेको मत ७ हजार देखि ७ हजार ५ सय हाराहारी हुने देखिन्छ ।

यता गत निर्वाचनमा जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका कविराम खनालले ४ हजार ५ सय मत प्राप्त गरेको भए पनि यो पालिकामा जनमोर्चाको मत ३ हजार ५ सय हाराहारी हो ।

हाल नगर प्रमुखको उम्मेदवार बनेका जनमोर्चाका झविलाल थापाले नेपाली काँग्रेसको ३ हजार, नेकपा माओवादी केन्द्रको ७०० र एकीकृत समाजवादीको ५०० हाराहारी मत प्राप्त गर्दा गठबन्धनतर्फ कुल ७ हजार ७ सय मत हुनसक्छ । जसमा नयाँ थपिएका मतदाता मध्ये २ हजार ५ सयले गठबन्धन रोजेको अवस्थामा झविलाल थापाले १० हजार भन्दा बढी मत प्राप्त गर्ने देखिन्छ ।

यसर्थ यो निर्वाचनमा क्षेत्रीयताको हिसाबले रेशम थापाले नुवाकोट, खिल्जी असुरकोटको मत नकाटेको अवस्थामा र गठबन्धनमा रहेका अन्य राजनीतिक दल निकट मतदाताबाट बेइमान नभएको अवस्थामा दुई हजार देखी २ हजार पाँच सय मतको अन्तरमा गठबन्धन पक्षधर झविलाल थापाले भूमिकास्थानको नेतृत्वमा जित हात पार्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया